काठमाडौँ / किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।
किसान लघुवित्तको ३ हजार ६०५ कित्ता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
सम्बन्धित कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीद गर्न चाहेमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीहरूले दिएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौं र किसान लघुवित्तको शेयर खरीदका लागि कर्पोरेट कार्यालय बुढानीलकण्ठ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।