काठमाडौँ / मङ्गलबार पनि सेयर बजार सामान्य अङ्कले बढेको छ । यो दिन नेप्से परिसूचक ५.०८ अङ्कले बढेर २६१३.०८ बिन्दुमा पुगेको छ । मङ्गलबार १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ ओटाको घटेको छ । आज ८ ओटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
त्यस्तै, ३११ धितोपत्रको १ करोड १६ लाख ६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । सोमबारको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.०६ प्रतिशतले बढेको छ ।
यता, रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.९६ प्रतिशतले घटेको छ । त्यस्तै, मानुषी लघुवित्त र नारायणी डेभलपमेन्ट बैंककाो सेयर मूल्यमा पनि उच्च गिरावट आएको छ ।
सोमबारको कारोबार रकममा सिइडिबी होल्डिङ्स् लिमिटेडको हिस्सा बढी रह्यो । यो कम्पनीको २३ करोड ७६ लाख ३५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको हो । त्यस्तै, दोस्रो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबार कारोबारमा आएका १३ ओटा समूहमध्ये पाँच ओटाको सूचक घटेको छ भने बाँकी ८ ओटाको बढेको छ ।
यो दिन सबैभन्दा बढी अन्य समूहको परिसूचक २.७९ प्रतिशत र निर्जीबन बिमा समूहको १.७८ प्रतिशत र जीवन बिमा समूहको १.१० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, होटल्स तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, जीवन बिमा, लघुवित्त समूहको परिसूचक सामान्य बढेको छ ।
यता, व्यापारिक समूहको परिसूचक सबैभन्दा बढी २.१० प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक पनि १.०३ प्रतिशतले घटेको छ । बैंकिङ, हाइड्रोपावर र म्युचुअल फण्डको सूचक पनि घटेको छ ।