काठमाडौँ / आइतबार उच्च अङ्कले बढेको सेयर बजार सोमबार भने सामान्य मात्रै बढेको छ । यो दिन १३७ ओटा कम्पनीको सेयर मूल्य घट्दा पनि आज नेप्से परिसूचक २.४१ अङ्कले बढेर २७३० बिन्दुमा पुगेको हो । साताको दोस्रो दिन सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।
आइतबार १२ अर्ब बढीको कारोबार भएकोमा सोमबार भने ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो । आज ८ कम्पनीको मूल्य स्थिर रहँदा ९७ ओटा कम्पनीको मात्रै मूल्य बढेको छ ।
बजारमा सोमबार ६ समूहका परिसूचक सामान्य बढ्दा ७ समूहका परिसूचकमा गिरावट आएको छ ।
यो दिन निर्जीबन बिमा समूहको परिसूचक ०.८२ प्रतिशत, म्युचुअल फण्डको ०.७८ प्रतिशत, व्यापारिक समूहको ०.७९ प्रतिशत, बैंकिङ उपसमूह ०.५४ प्रतिशत, जीवन बिमा ०.६७ प्रतिशतले बढेका छन् भने उत्पादन तथा प्रशोधन समूह र वित्त समूहको परिसूचक पनि बढेको छ ।
आज सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । वित्त समूहको परिसूचक १.०७ प्रतिशत, लगानी समूह ०.४७ प्रतिशत, अन्य समूह ०.६० प्रतिशत, हाइड्रोपावर समूह ०.४८ प्रतिशत र विकास बैंकको परिसूचक ०.३९ प्रतिशतले घटेको छ । होटल्स तथा पर्यटन समूहको परिसूचक पनि घटेको छ ।
सोमबार बजारमा उपकार लघुवित्त र भूगोल इनर्जीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको सेयर मूल्य ९.०२ प्रतिशतले बढेको छ ।
आज दुई ओटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । ग्रिन डेभलपमेन्ट बैंक र रिभल फल हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
कारोबारका आधारमा भने सोमबार एनआरएन इन्फास्ट्रक्चर र सप्तकोशी डेभलपमेन्ट बैंकको हिस्सा सबैभन्दा बढी देखिन्छ ।
एनआरएन इन्फास्ट्रक्चरको ३५ करोड ३० लाख ७५ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।