काठमाडौँ / मिड सोलु हाइड्रोपावर लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि साउन १४ देखि साउन २८ सम्म ७४ हजार ८ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार आइपीओमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २०० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो ।
सो मध्ये सम्बन्धित सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट ५८ हजार ६४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरिएको र बाँकी रहेका जम्मा २९,६५५ जना आवेदकहरुबाट ६ लाख ४५ हजार ५६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ।
प्राप्त आवेदनहरु रुजु गर्दा ७ जना आवेदकबाट २६० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त जम्मा २९ हजार ६४१ जना आवेदकहरुबाट ६ लाख ४५ हजार ३०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । जस अनुसार १० कित्ता देखि ३,००० कित्ता सम्म शेयर खरिद आवेदन गर्ने ७ हजार ४८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ७४ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
आइपीओको नतिजा क्यापिटलको वेभसाईट http://www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ।