काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन् ।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए ।
उनले भने, “आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस बर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम आट्रिफिसियल इन्टेलिजेन्स(एआइ)को पोलिसीमा काम गर्छौँ र यस सम्बन्धि ऐन पनि बनाउछौँ ।”
मन्त्री गुरुङले आइटी क्षेत्रको बिकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए ।
उनले भने, “आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरू कसरी विकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौँ । यसका लागि पूर्वाधारको तयारी गरिरहेका छौँ । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्नेछौँ । यसलाई हामीले सबै प्रदेशहरूमा गर्ने छौँ । यसको सुरुवात हामीले काठमाडौँबाट गर्छौ ।”
मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरूले काम गर्न नपाएको पनि बताए ।