काठमाडौँ/ नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणप्रति स्वागत गरेको छ ।
नास आईटीको पहल र नीतिगत वकालतको परिणाम स्वरूप सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरुको शुरुवात गरेको जनाएको छ ।
नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने नासले जनाएको छ ।
नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन समेत भनेको छ ।
आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने विश्वास नासले लिएको छ ।
अब सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जानेछ, जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्याउने नासको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सरकारले यस आर्थिक बर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ ।
साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत छ ।
लक्ष्य प्राप्त गर्नका लागि पनि अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने नासले भनेको छ ।
नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानून संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ।
यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरुबीच आवश्यक समन्वयात्मक कार्य गराउन नासआईटी आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता गरेको छ ।
नासआईटीको परिचय
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेज कम्पनीज् (नासआईटी) सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरुको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो।
यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरुसँग सम्बन्धित कानूनी, नीतिगत, र अन्य सामूहिक सवालहरुमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ।