काठमाडौँ / होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । संघले गत वर्षबाट सुरु गरेको सत्कार दिवस यस बर्ष पनि मनाएको हो ।
आगामी बर्षहरूमा पनि सत्कार दिवस मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए ।
उक्त दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौतीहरू र भावी दिनको योजना तथा कार्यक्रमहरूको प्रस्तुती गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने समृद्धिको लेखाजोखा गरिने अध्यक्ष शाहको भनाई छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्टहरू १ लाख १६ हजार भन्दा बढी होटल कोठा उपलब्ध छन् ।
नेपालमा रेस्टुरेन्टहरूले २२ लाख ग्राहकहरूलाई सेवा दिनसक्ने क्षमता रहेको छ ।
तथ्याङ्कले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक÷ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको अध्यक्ष शाहले बताए ।
यसले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्द्धक आपूर्तिको स्थिति इंगित गर्दछ भने त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक सङ्ख्या ११ लाख ४७ हजारको तथ्याङ्कले दर्शाएको उनले बताए ।
अस्तव्यस्त राजमार्ग भएर १०÷१२ घण्टा लगाएर काठमाडौँबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरू खप्न तयार देखिँदैनन् ।
गत वर्ष भएका हवाई तथा सडक दुर्घटनाहरूका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरू रही रहेकोले समस्या झन् बढेको अध्यक्ष शाहले बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरूलाई एकै थलोमा राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरू एकिन हुने कार्यक्रम ज्यादै महत्त्वपूर्ण रहेको भन्दै सराहना गरे ।
मन्त्री पाण्डेले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए ।
उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेत्रसँगको सहकार्य गर्दै आइरहेको पनि बताए । कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरूलाई सम्मान समेत गरिएको थियो ।
उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो ।
उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवर्द्धनमा सघाउ पुर्याउने मूर्धन्य सेफहरूलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पुर्याउने विभिन्न प्रायोजकहरूलाई समेत सम्मान गरिएको थियो ।
सातै प्रदेशबाट प्रतिनिधत्व गर्ने होटल व्यवसायीहरू, सरोकारवालाहरू र लब्धप्रतिष्ठित व्यक्तित्वहरूको भेला रहेको उक्त कार्यक्रमलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रविण बहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा साना होटलहरूले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउने नै देखिन्छ ।
“नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चि नै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सकिनेछ,” उपाध्यक्ष पाण्डेले भने ।
कैयन होटल र लजहरू विना दर्ता सञ्चालनमा रहेको दुःखद् विषय रहेको उनले बताए ।
“यसबाट राज्यले ठूलो राजस्व गुमाउनुका साथै राज्य र विभिन्न संघसंस्थाहरूबाट गरिएको विश्वव्यापी प्रवर्द्धनबाट नेपाल भित्रिएका पर्यटकहरू दर्ता नभएका होटल लजमा बस्दा यस संघमा कानुनी दायरामा रही दर्ता सञ्चालनमा रहेका होटलहरूलाई अन्याय भएको हामीले महसुस गरेका छौँ,” उनले भने ।
यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्नेसमेत उनले प्रष्ट पारे ।
सोही दिन संघको वार्षिक साधारणसभासमेत सम्पन्न भएको थियो भने उक्त साधारणसभाले संघलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गर्यो । कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो।