काठमाडौँ / नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले अध्यादेशहरूमार्फत गरेको संशोधनको स्वागत गरेको छ । संघले एक विज्ञप्ति जारी गरी आफूले लामो समयदेखि माग गर्दै आएको कालोबजारी ऐनलगायत अन्य ऐनहरू संशोधन गरिएको भन्दै सरकारको कदमको स्वागत गरेको हो ।
यसले मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास रहेको संघले जनाएको छ ।
“समयसापेक्ष र वैज्ञानिक ऐन, कानुन व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्यलाई मनन् गर्दै ऐन कानुनहरूमा समयसापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,” संघको विज्ञप्तिमा उल्लेख छ ।
यसका लागि संघले सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै असल उद्देश्यका साथ संशोधन गरिएका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
उद्योग, व्यवसायसँग सम्बन्धित ऐन कानुनमा गरिएको संशोधनबाट बजार मागमा आएको संकुचन न्यूनीकरण हुने, व्यवसायीको खस्किँदो मनोबल उकास्न बल पुग्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने संघको विश्वास छ ।
“पछिल्लो पटकको ऐन संशोधनअनुसार नियमावली र कार्यविधिहरू संशोधन गर्न र बन्न बाँकी नियमावली र कार्यविधि पनि यथाशीघ्र तयार गरी व्यवसायमैत्री ऐन, कानुन कार्यान्वयन हुने वातावरण तयार गर्न हामी आग्रह गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।
संसद्मा छलफलमा रहेको भन्सार विधेयक २०८० पनि उद्यमी व्यवसायीका चासोका विषयलाई सम्बोधन हुने गरी यथाशीघ्र पारित गरी कार्यान्वयन गर्नसमेत संघले आग्रह गरेको छ ।