images
images

भेरी करिडोर सडक : स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित, कुन खण्डमा के भइरहेको छ ?

भेरी करिडोर सडक : स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित, कुन खण्डमा के भइरहेको छ ?

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • भेरी करिडोर सडक : स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित, कुन खण्डमा के भइरहेको छ ?
    images
    images

    कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले ४ अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । 

    नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो । 

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए । 

    लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताए । भेरी करिडोर सडक २ सय १७ किलोमिटर हुने जनाइएको छ ।

    त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर छ । हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । 

    अब तल्लुबाट दुनैसम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।

    बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । 

    पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागिसमेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ ।

    त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्याप खण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । 

    ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । उक्त सडक खण्ड निर्माण गर्न सूर्य–श्रेया–शान्तिदेवी जेभी काठमाडौँले रु १३ करोड ४२ लाखमा ठेक्का लिएको थियो । 

    लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । 

    कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम विसं २०६५ मा सुरु गरेको थियो ।

    दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

    भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्डको पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम सुरु गरेको छैन । जेभीले वि.सं २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो। 

    त्यस्तै, सोही कम्पनीले २०७७ माघ २ मै मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको ठेक्का लिएको थियो । 

    ठेक्का लिने तर काम नगर्नाले भेरी करिडोरमा पक्की पुल निर्माण हुनसकेका छैनन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार