काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने बताए ।
उनले भने, “नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ । त्यसको प्रतिवेदन आइसकेको छैन् । समितिले देखाएको कुराहरूको सम्बोधन गरेर नेपाल दूरसञ्चारहरूलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ ।”
यसको साथै, उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमासंस्थाको प्रभाव घटेको पनि बताए ।
उनले भने, “संस्थाको जुन खालको गौरवशाली इतिहास छ र अहिले पनि राम्रो काम गरिरहेको छ । तर चुनौतीहरू धेरै बढिरहेका छन् । प्रतिस्पर्धा धेरै छ । त्यसकारण संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ । उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो कि अथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो । त्यसमा समिक्षा गर्नुपर्ने अवस्था आएको छ । अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौ भने पछि पछुताउनुपर्छ ।”