images
Logo
images
images
images

जहाँ कन्या–कन्याबिच विवाह हुन्छ !

जहाँ कन्या–कन्याबिच विवाह हुन्छ !

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • जहाँ कन्या–कन्याबिच विवाह हुन्छ !
    images
    images

    त्रिवेणी (रुकुम पश्चिम) / आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै भेषभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसै मध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला । 

    परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबिच विवाह हुन्छ तर त्यो नक्कली हो । परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन् । 

    हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या-कन्याबिच विवाह हुने परम्परा छ । यस पटक पनि दुई गाउँका किशोरीका बिचमा विवाह सम्पन्न भयो ।

    साँख गाउँको बिचमा दह छ । यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ । 

    यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बिचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन छ । यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताए । 

    उनका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष  आलोपालो हुने गरेको ओलीले बताए । 

    किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा छ ।

    यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । 

    अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या-कन्याबिच विवाह सम्पन्न गरेका थिए । 

    विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरूले नाच्छन् । 

    लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो ।

    साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ। हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन् ।

    हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ ।

    पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ । यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । “गाउँको चालचलन धान्ने कन्या पापिनी हुनुपरेको छ, यो उहिलेकै चलन हो,” स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने । 

    ‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आएका छन् । 

    हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताए । 

    हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् । रासस  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार