काठमाडौँ / नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका कोइराला एसोसिएसनको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनको कार्यकाल दुई वर्षको हुनेछ। कोइराला यसअघि उपाध्यक्ष थिए। कोइराला अध्यक्ष बनेपछि रिक्त उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी निर्विरोध चयन भएका छन्
उनी तीन महिनाअघि मात्रै ग्लोबल आइएमई बैंकको सिइओ बनेका थिए । त्यस्तै, संघको रिक्त अन्य तीन सदस्य पनि निर्विरोध चयन भएका छन् ।
सदस्यहरूमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन्।
सिइओ खालिङ भने एक कार्यकाल पूरा गरेर दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।
एसोसिएसनको नयाँ कार्यसमितिमा कोइराला अध्यक्ष, सुनिल केसी निवर्तमान अध्यक्ष, रेग्मी उपाध्यक्ष तथा सदस्यहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नेपाल एसबीआइ बैंकका दिपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे प्राइम कमर्सियल बैंकका सचिव मानन्धर, एभरेष्ट बैंकका खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका खनाल र नेपाल बैंकका पाण्डे रहेका छन् ।
एसोसिएसनको सल्लाहकारहरूमा पूर्वअध्यक्षहरु नबिल बैंकका ज्ञानेन्द्र ढुङ्गाना र हिमालयन बैंकका अशोक राणा छन्।