काठमाडौँ / आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर नगद र उपहार दिने सूचना गलत भएको नेपाल टेलिकमले स्पष्ट पारेको छ ।
बुधबार विज्ञप्ति प्रकाशित गर्दै टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ बर्षको अवसरमा ५ हजार रुपैयाँसम्मको नगद तथा उपहारको व्यवस्था गरेको सूचना सामाजिक सञ्जालबाट प्रवाह भइरहेको विषयमा स्पष्टीकरण दिएको हो ।
नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह जनाउँदै टेलिकमले सोप्रति सचेत रहन आग्रह गरेको छ ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुनसमेत टेलिकमको आग्रह छ ।