images
images

रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल, कसरी पुग्ने ?

रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल, कसरी पुग्ने ?

पदमार्ग यात्राका क्रममा विश्वको अग्लो सगरमाथा सहित नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • images
    images
    रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल, कसरी पुग्ने ?
    images
    images

    इलाम / कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रूपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरू पनि छन् ।

    images
    images

    दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदेखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्म गाउँपालिका फैलिएकाले यहाँका हरेक स्थानहरू घुम्न लायक छन् । 

    १५६.०१ वर्ग किमी क्षेत्रफल ओगटेको गाउँपालिका जनसङ्ख्याको आधारमा १३३ औं र क्षेत्रफलको आधारमा चारसय ७७ औं सानो स्थानीय तह हो । इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सन्दकपुरमा तुलनात्मक रूपमा घुम्न लायक स्थानहरू बढी छन् । 

    सन्दकपुर उक्लिएपछि प्राकृतिक भू-बनोट, बहुमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तु, जैविक विविधता विभिन्न जातजातिको भाषा, सस्कृति, रहनसहन, रितीरिवाज र कृषिमा आधारित जीवनशैलीको अध्ययन गर्न सकिन्छ । समुन्द्र सतहबाट ९ सय ९ मिटरदेखि तीन हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ ।

    Ilam-Redpanda padmarga.JPG

    सिंहलिला र महाभारत पर्वत श्रृङ्खलाबाट उत्पन्न दर्जनौँ नदीनाला, विश्व रामसार सुचीमा सुचीकृत माइपोखरी, अन्य सिमसार क्षेत्र, लोपोन्मुख वन्यजन्तु, वनजंगलभरी पाइने चराका बथान, वनस्पति हिमश्रृङ्खलाको दृश्य, झरनाहरू सन्दकपुरका आकर्षण हुन् । विशेषगरी लेकाली एवम पहाडी क्षेत्रमा रहेकाले यहाँका हरेक स्थान पदयात्राका लागि अब्बल छन् । 

    सन्दकपुर डाँडा : कहाँबाट पदयात्रा सुरु गर्ने ?

    स्थानीय तह घोषणा भइ जनप्रतिनिधि नेतृत्वमा आएपछि सन्दकपुर गाउँपालिका भित्र पर्यटन प्रवद्र्धनले गति लिएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनपछि पर्यटन पूर्वाधारले पनि गति लिएको छ । सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल पछिल्लो समय पदमार्गले जोडिएका छन् । विश्व रामसार सूचीमा सूचीकृत माइपोखरीदेखि मानव निर्मित ढापपोखरी जोड्ने ४३ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ । 

    माइपोखरीबाट शुरू भएको पदमार्गले डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, सूर्योदयमा दृश्यावलोकन क्षेत्र छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरूवाले, धुपि, आहाल हुदै सन्दकपुर डाँडा जोडिन्छ ।

    सन्दकपुरबाट गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पुगेर पूरा हुन्छ । रेडपाण्डा पदमार्ग यात्राका क्रममा विश्वको अग्लो हिमश्रृङ्खला ६० बढी हिमालको दृश्य, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चरिबाघ, मुनाल, डाँफे सहित सयौँ प्रजातीका चराहरू, सिमसार, नदीका मुहान, प्राकृतिक सुन्दरतामा रमाउन सकिने स्थानीयहरूको दाबी छ । 

    Ilam maipokhari.JPG

    सन्दकपुर डाँडासम्मको पदयात्रा सन्दकपुर गाउँपालिका ५ को पर्यटकीय गाउँ जौबारी बाट गैरीबास, कैयाकट्टा, कालपोखरी हुँदै पदयात्रा गर्न सकिन्छ । जौबारी सन्दकपुर पदमार्ग २५ किलोमिटर लामो छ ।

    सन्दकपुर डाँडाको पदयात्रा  वडा नम्बर १ को बिखेभञ्ज्याङबाट पर्यटकीयस्थल छिन्टापु गोरूवाले हुँदै सन्दकपुर पुगिन्छ । बिखेभञ्ज्याङबाट सन्दकपुरसम्मको पदयात्रा ३० किलोमिटर लामो छ ।  

    रेडपाण्डा पदमार्ग

    विश्व रामसार सूचीचमा सूचीकृत माइपोखरीदेखि जौबारीसम्म जोड्ने पदमार्ग रेडपाण्डा पदमार्ग हो । पदमार्ग ४३ किलोमिटर लामो छ । रेडपाण्डा पदमार्गमा पर्ने कैयाकट्टाबाट मानव निर्मित चन्द्रपाल थेवे ढापपोखरीसम्म पनि पदमार्गले जोडिएको छ । 

    माइपोखरीबाट शुरू भएको पदमार्गले पर्यटकीयस्थल डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरूवाले, धुपि, आहाल हुँदै कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुगिन्छ । 

    सन्दकपुरबाट बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पनि पुगिन्छ । सन्दकपुर गाउँपालिकाबाट रेडपाण्डा पदमार्ग नामाकरण भएको पदमार्गमा संघीय सरकारको पर्यटन विभागबाट ६ करोड र प्रदेश सरकारबाट १ करोड खर्च भएको छ । जुन सन्दकपुर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीबाट वडा नम्बर ५ को जौबारी बजार जोडिन्छ । जौबारीलाई पूर्वी नेपालको मुस्ताङको उपमा पाएको छ । 

    पदमार्गका आकर्षण

    रेडपाण्डा पदमार्गले १५ पर्यटकीय गन्तव्य समेटिएका छन् । रामसार क्षेत्र माईपोखरी, डम्बरसिंह सुनुवार संग्राहालय, सहिदभुमि सातखाल्डे, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, खप्परे, ढुङ्गेपानी, छिन्टापु डाँडा, गोरूवाले पर्दछ । पदमार्गमा धुपि, आहाल डाँडा, सन्दकपुर डाँडा, गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी,  लालबास पोखरी, दोबाटे, माबुथाम, कैयाकट्टा, गैरीबास र जौबारी बजार रहेका छन् ।

    Ilam himpat.JPG

    रेडपाण्डा पदमार्गको शुरूवात सन्दकपुर १ र ३ मा अवस्थित रामसार क्षेत्र माईपोखरीबाट शुरू हुन्छ । माइपोखरी विश्व रामसार सूचीमा सुचिकृत धार्मिक र पर्यटकीय गन्तव्य हो ।

    पदमार्ग यात्राका क्रममा विश्वको अग्लो सगरमाथा सहित नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । लोपउन्मुख रेडपाण्डा, थार, चितुवा, चरिबाघलगायतका वन्यजन्तुको अध्ययन गर्न सकिन्छ ।

    लोपउन्मुख डाँफे, मुनालसहित दर्जनौँ चराहरूको दृश्यावलोकन र अध्ययन पदमार्ग यात्राका क्रममा पाइन्छ । दजनौँ सिमसार, नदीका मुहान, र प्राकृतिक सुन्दरतासँगै जडिबुटी र गुराँससहित दर्जनौँ प्रजातिका वनस्पति, फूलहरूमा रमाउन सकिन्छ । 

    यात्रा र समय

    रेडपाण्डा पदमार्ग ४३ दशमलव १८ किलोमिटर लामो छ । पदमार्गको यात्रा तीन दिनमा गर्न सकिने भएपनि भौगोलिक अवस्था, पदयात्रीको सुविधाका लागि आवश्यक पूर्वाधारका कारण पाँच दिनमा यात्रा गर्न सकिन्छ ।

    पदयात्रा छोट्याउने र लम्ब्याउने पदयात्रीको खर्च गर्ने क्षमता र यात्राको अवस्थामा निर्भर हुन्छ । पदमार्गमा क्षेत्रमा खाने र बस्ने सुविधाको आधारमा यात्रा गर्न सकिन्छ ।  पदयात्राको शुरू माइपोखरी वा जौबारीबाट गर्न सकिन्छ । माइपोखरीबाट यात्रा तय गर्ने योजना बनाएमा झापाको पूर्व पश्चिम राजमार्गको चारआलीबाट इलाम सदरमुकाम हुँदै ८० किलोमिटर यात्रा गाडीको यात्रा गर्नुपर्छ । 

    paadmarga.JPG

    त्यसपछि माइपोखरीसम्म गाडीको यात्रा थप १२ किलोमिटर हुनेछ । यदि हामीले जौबारीबाट पदयात्राको योजना बनाएमा मेची राजमार्गको फिक्कलबाट माईजोगमाई गाउँपालिकाको नयाँबजारहुँदै जौबारीसम्म ७२ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ । 

    पर्यटकीय गन्तव्यसँगै रहेका होटल र होमस्टेमा गाँस र बासको सुविधा रहेकाले यात्रा रमाइलो हुनेगर्छ । यात्राका क्रममा दर्जनौँ प्रजातीका चराहरू, लोपोन्मुख रेडपाण्डा, दर्जनौ हिमश्रृङ्खलाको दृश्यमा रमाउन सकिन्छ ।

    यात्राका क्रममा भेटिने छोक्रेभञ्ज्याङ, खप्परे घिवाला भञ्ज्याङ्ग र ढुङ्गेपानी क्षेत्रसम्मको क्षेत्र वन्यजन्तु र चराहरूको अध्ययनको क्षेत्र मानिन्छ । छिन्टापु डाँडा नेपालको प्राकृतिक ग्रेटवालले प्रख्यात छ । चीनको ग्रेटवाल झैँ देखिन्छ । छिन्टापु ३ हजार ३ सय ३ मिटरको उचाईमा अवस्थित छ । छिन्टापु क्षेत्र इलामको गुराँसको राजधानीका रूपमा परिचत छ । छिन्टापुबाट दर्जनौ हिमश्रृङ्खलाहरूको दृश्यमा रमाउन सकिन्छ ।

    छिन्टापु क्षेत्रमा क्याम्प राखेर गर्न बस्न सकिने भएपनि होटल र होमस्टेको व्यवस्था नभएकाले गोरूवाले क्षेत्रमा पुगेर होमस्टेमा बस्न सकिन्छ । सन्दकपुर क्षेत्र समुन्द्र सतहबाट ३६ सय ३६ मिटरमा अवस्थित छ ।

    पदयात्राका क्रममा चराहरूको चिरबिर अनि भेटिने मुनाल र रेडपाण्डाको दृश्यले सबैको मन फुरूङ्ग बनाउँछ । चैत्र र बैशाखमा फुल्ने लाली गुराँसको फुलमा रम्न सकिन्छ । यात्राका क्रममा धुपि क्षेत्रमा रहेका चौरी गोठहरूमा चौँरीको दूधको स्वादमा रमाउँदै धुपिबाट आहाल डाँडा हुँदै सन्दकपुर डाँडासम्म पुग्न सकिन्छ । 

    आहालडाँडा सुर्योदय र सुर्यास्तको दृश्यमा रमाउन सकिन्छ । नेपाल र भारत सीमा क्षेत्रमो रहेको आहालडाँडा क्षेत्रमा भारत भएर दैनिक सयौँ पर्यटकहरू आउने गरेको छ । आहालडाँडाबाट सगरमाथा, कंचनजंघमा हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । आहालडाँडाबाट नजिकै रहेको छ सन्दकपुर डाँडा । भारतको पश्चिमबंगाल र इलामको शीर सन्दकपुर डाँडा महाभारत पर्वतमा पर्ने सुनको अण्डा मानिन्छ ।

    ghumphir Ilam.JPG

    नेपाल, भारत, भुटान र चीनको तिब्बतका हिमश्रृङ्खलाहरूको चराले झैँ दृश्यावलोकन गर्न सकिने सन्दकपुर क्षेत्रमा होटल र होमस्टेहरूमा बास बस्नको आनन्द बेग्लै हुन्छ । सन्दकपुरबाट नेपाल, भारतका ग्रामीण बस्तीदेखि सहरहरूसम्मको दृश्यमा रमाउन सकिन्छ ।

    पदयात्रामा भेटिने दोबाटे लोपोन्मुख रेडपाण्डाको अध्ययन क्षेत्रको रूपमा परिचित छ । सन्दकपुर डाँडाबाट हामी गुराँसे भञ्ज्याङ, बिखेभञ्ज्याङ्ग, चौरी चौक, कालपोखरी, लालबास पोखरी हुँदै दोबाटे पुग्न सकिन्छ । 

    दोबाटे क्षेत्रका होमस्टेमा बास बसेर अर्गानिक खाना अनि लोपोन्मुख रेडपाण्डाको अध्ययन गर्न सकिन्छ । दोबाटे क्षेत्रमा मुनाल र डाँफे चराको पनि अध्ययन गर्न पाइन्छ । त्यसबाहेक चरिबाघ र सयौँ प्रजातीका चराहरूको अध्ययन अवलोकन गर्न पाइन्छ । दोबाटेबाट जौबारीसम्मको यात्रा अझै रोमाञ्चक बनाउन सकिन्छ । सन्दकपुर ४ को माबुथाम डाँडासम्म पदयात्रा माबु सन्दकपुर सडकको प्रयोग गर्नुपर्छ ।

    माबुथाम डाँडामा निर्माणाधिन टावरबाट पुरै सन्दकपुर गाउँपालिकासँगै तराईका भु–भागहरूको दृश्यावलोकन गर्न सकिन्छ । दोबाटे फर्केर कैयाकट्टा, गैरीबास, जौबारीसम्म यात्रा झनै रोमाञ्चक लाग्छ । जंगलको बिचमा रहेको पदमार्ग यात्राको आनन्द बेग्लै हुन्छ । यात्राको बिचमा पर्ने कैयाकट्टा, गैरीबास, जौबारी क्षेत्र रेडपाण्डा, सयौँ चराहरू, मुनाल, डाँफे, चरीबाघको अध्ययन गर्ने अवसर पाइन्छ ।

    थप्न सकिन्छ यात्रा 
    रेडपाण्डा पदमार्गको यात्रा सकिएपछि यात्रा थप गर्न सकिन्छ । सन्दकपुर ५ को कैयाकट्टाबाट हाँगेथाम हुँदै ढापपोखरीसम्मको पदयात्रा थप्न सकिन्छ ।

    Padyatra.JPG

    कैयाकट्टाबाट ढापोखरीसम्मको यात्रामा पर्यटकीय गन्तव्य कैयाकट्टा, हाँगेथाम, साँङ्गे छ्योलिङ्ग गुम्बा, ढापोखरी, पाहा झरना जोडिएका छन् । यो यात्रा ८ किलोमिटरको हुनेछ । त्यस्तै सन्दकपुर– ५ को जौबारीबाट आहालभञ्ज्याङ्ग क्षेत्रसम्मको यात्रा थप गर्न सकिन्छ ।

    यात्रामा रेडपाण्डा र चराचुरूङ्गीको अध्ययन गर्न सकिन्छ । सन्दकपुर १ को बिखेभञ्ज्याङ्गबाट छिन्टापु हुँदै सन्दकपुरसम्म यात्रा गर्न सकिन्छ । यो क्षेत्रमा पाँचथरको पौवाभञ्ज्याङ्गबाट निर्माण सुरु भएको फाल्गुनन्द पदमार्गले जोडिन्छ । हिमाली दृश्यसँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा र चराचुरूङ्गीको अध्ययनबाट आनन्द लिन सकिन्छ । 

    पदमार्गमा पूवार्धार आवश्यक

    रेडपाण्डा पदमार्ग पूर्ण रूपमा सञ्चालनका लागि थप पूर्वाधार निर्माण हुुनपर्ने आवाज उठिरहेको छ । पदमार्ग र पर्यटकीय गन्तव्यहरूको सूचना लिनका लागि सूचना केन्द्रको आवश्यकता देखिएको छ । विश्व रामसार सूचिमा सूचीकृत माइपोखरीमा सुचना केन्द्र स्थापना गर्न यात्रुहरूले माग गर्ने गरेका छन् ।

    पदमार्गको सुरक्षा र मर्मतको काम नियमित हुनुपर्ने आवाज पनि उठिरहेको छ । पदमार्गको नियमित मर्मत नहुँदा झाडीमा परिणत हुने भएकाले अशोस र फागुन महिनामा पदमार्ग सफा गर्नुपर्ने बाध्यता छ । पदमार्गको छिन्टापु क्षेत्रमा पर्यटक बस्ने आवास गृहसँगै, शौचालय र खानेपानीको व्यवस्था गर्न आवश्यक छ ।

    सन्दकपुर डाँडामा गेष्टहाउस संचालन गर्न, पदमार्गको टप्पु छिन्टापु क्षेत्रको घिवाला भञ्ज्याङ्ग क्षेत्रमा पर्यटक बस्नका लागि गेष्ट हाउस बनाउन आवश्यक छ । गोरूवाले आहाल खण्डको धुपी क्षेत्रमा गेष्ट हाउस र क्याम्प राख्नका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयको जोड छ ।

    padmarga1.JPG

    पदमार्गको कैयाकट्टा र गैरीबास जोड्ने खण्ड पूर्णरूपमा मर्मत गर्नुपर्ने, घिवाला भञ्ज्याङ्ग, छिन्टापु, धुपि, लगायतका क्षेत्रमा खानेपानीको व्यवस्था हुनुपर्ने,  आरामका लागि गोल घर बनाउनुपर्ने पर्यटन व्यवसायीहरूले माग गर्दै आइरहेका छन् । पदमार्ग भित्र पर्ने बजारहरूमा फोहोरमैला व्यवस्थापन गर्न समुदायलाई सचेत गराउनुपर्ने आवाज पनि उठिरहेको छ । 

    रेडपाण्डा पदमार्ग क्षेत्रमा जैविक विविधता, जडिबुटी, चराचुरूङ्गी, सरिश्रप, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, चितुवा, चरिबाघ, मुनाल, डाँफे र पोखरीहरू रहेकाले सोही अनुसारका कार्यक्रमहरू अघि बढाउन सरोकारवालाहरूले बताउँदै आइरहेका छन् । यद्यपी, भौतिक पूर्वाधार निर्माण गर्दा वनजंगल र जंगल क्षेत्रमा बसोबास गर्ने चराचुरूङ्गी, वन्यजन्तु, चराचुरूङ्गी र सिमसार क्षेत्रको सुरक्षालाई ध्यान दिनुपर्ने सुझाव सरोकारवालाहरूको छ ।

    रेडपाण्डा पदमार्गको सुरक्षा र व्यवस्थापनका लागि समुदायसँग जोड्नुपर्ने, नियमित मर्मतका लागि समुदायलाई जिम्मा दिनुपर्ने, समुदायमा आधारित पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने, होमस्टे, गोठस्टे, गाइड, पोटरलगायतका सीपमुलक कार्यक्रमहरूअघि बढाउन सुझाव आएको सरोकारवालाहरूको भनाइ छ । 

    - सुजन तिमल्सिना 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार