काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से एकैदिन ७५.२४ अङ्कले बढेको छ । अघिल्लो कारोबार दिन ४९.१५ अङ्कले बढेर २८१५.०४ बिन्दुमा थामिएको बजार आज २.६७ प्रतिशतले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो ।
यस दिन सेयर बजारमा १९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ ओटाको मात्रै घटेको छ । ४ कम्पनीको मूल्य आज स्थिर रह्यो । नेप्सेसँगै आज कारोबार रकमसमेत बढेको छ ।
अघिल्लो कारोबार दिन ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको बजारमा आज १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँबढीको सेयर कारोबार भयो ।
आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १ लाख ३९ हजार ५९६ पटकमा किनबेच भए । नेप्से बढेसँगै बजार पुँजीकरण रकम पनि बढेर आज ४७ खर्ब ९९ अर्ब १९ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
सात सेक्टरको सूचकमा ३ प्रतिशत माथिको बृद्धि
आइतबार म्युचुअल फण्डको परिसूचक १.२७ प्रतिशतले घट्दा बाँकी सबै समूहको परिसूचक बढेका छन् । जसमध्ये सात समूहको परिसूचक ३ प्रतिशतबढीले बृद्धि भएको हो ।
आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक ४.७९ प्रतिशत, जीवन बिमा ४.२१ प्रतिशत, वित्त ४.२८ प्रतिशत, होटल तथा वित्त समूह ४.१४ प्रतिशत, निर्जीबन बिमा ३.४१ प्रतिशत, विकास बैंक ३.८८ प्रतिशत र लगानी समूह ३.०३ प्रतिशतले बढ्यो ।
यसैगरी, बैंकि उपसमूह २.५३ प्रतिशत, हाइड्रो पावर १.९८ प्रतिशत, लघुवित्त १.३५ प्रतिशत, अन्य १.५१ प्रतिशत र व्यापारिक समूह १.०६ प्रतिशतले परिसूचक बढेका छन् ।
पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो
आइतबार पाँच वटा कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ । हिमालयन डिस्टिलरी लिमिटेड, गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १३२९.९० रुपैयाँ, ११४२.२० रुपैयाँ र ८४१.५० रुपैयाँ पुगेको छ ।
यसैगरी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्यु कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १२७०.३० रुपैयाँ र ४२२.८० रुपैयाँ पुगेको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ६७०.६० रुपैयाँ र पोखरा फाइनान्सको ९.२१ प्रतिशतले बढेर ४९८ रुपैयाँ पुगेको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य पनि आज ८.८० प्रतिशतले बढेर प्रतिकित्ता २११०७.९० रुपैयाँ पुगेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ८.८० प्रतिशतले बढेर प्रतिकित्ता १२२९ रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टको सेयर मूल्य पनि आज ७.९६ प्रतिशतले बढेर ५९७ रुपैयाँ पुगेको छ ।
मर्जरमा जाने तयारीमा रहेको समाज लघुवित्तको लगानीकर्ताहरूले भने आज सर्वाधिक बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हहो ।
प्रतिकित्ता ३५३.९० रुपैयाँले सेयर मूल्य घटेर यो कम्पनीको मूल्य ३१८५.१० रुपैयाँ कायम भएको छ । यसैगरी, हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि आज ५.४७ प्रतिशतले घटेर प्रतिकित्ता ९३९ रुपैयाँ कायम भएको छ ।
आइतबार पनि पुनर्बिमा कम्पनीको सेयर कारोबार रकम शीर्ष स्थानमा छ । नेपाल पुनर्बिमा कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः १३२३ रुपैयाँ र १०१९.१० रुपैयाँ कायम भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको कारोबार ४० करोड ४ लाख ४६ हजार र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ करोड ३५ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजारले उकालो यात्रा तीव्र रूपमा अघि बढाएको देखिन्छ ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले भविष्यमा हुने कर्जा नोक्सानीबापत छुट्याउनु पर्ने रकम घटाएको घोषणा गरेको थियो । त्यस्तै, लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरिएको छ ।