काठमाडौँ / आउँदो शिवरात्रि अर्थात् फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’को अनलाइन टिकेट बुकिङ र बिक्री सुरु भएको छ । ‘रेशम फिलिली’ को सफलतापछि नौ वर्षपछि तयार भएको दोस्रो सिरिजमा उस्तै कमेडी र समसामयिकता रहेको लेखक तथा निर्देशक निरोज महर्जनले बताएका छन् ।
फिल्मले सुरुआती समयमा देशभर ८६ शो प्राप्त गरिसकेको छ । फिल्मको सार्वजनिक प्रचार सामग्री र गीतको प्रभावका कारण प्रतिक्षित बनेको फिल्मको लोकप्रियता ‘वर्ड अफ माउथ’ ले बढाउनेमा निर्माण टिम विश्वस्त छ ।
काठमाडौँ उपत्यकामा ४६ शो र मोफसलमा ४० शो पाएको फिल्मलाई पछिल्लो समय ‘फेरी जालमा’ गीतले चर्चामा ल्याएको छ ।
फिल्मको शो बुधवारसम्म अझै बढ्नेमा निर्माण टिम विश्वस्त छ । विसं २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो ।
तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो । त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै फिल्मको प्रशंसा गरिएको थियो ।
करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक फिल्मले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सुसन प्रजापती को छायाङ्कन, निरोज महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेल सम्पादन गरेका छन् ।
सिनेमा ‘आर्ट र वि मोसन पिक्चर्स’को सहकार्यमा निर्माण भएको फिल्मका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन् ।