काठमाडौँ / टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को मध्य-वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डिएलटिपी) २०८१ बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा पुस २७ र २८ गते सम्पन्न भयो । कार्यक्रममा नेपाल तथा भारतका डिस्ट्रिक्ट लिडरहरू र सदस्यहरूको सहभागिता रहेको थियो ।
नेतृत्व क्षमता, सहकार्यको महत्व र टोस्टमास्टर्सको मिशन-व्यक्तिहरूलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने उद्देश्यमा कार्यक्रम केन्द्रित रहेको थियो ।
नेतृत्व र सहकार्यको आधारशिला
डिस्ट्रिक्ट ४१ की डिभिजन डाइरेक्टर मून प्रधानको सारगर्भित स्वागत मन्तव्यका साथ तालिमको शुरुवात भएको थियो । डाइरेक्टर प्रधानले साझा लक्ष्यहरू प्राप्त गर्न सहयोग र नवीनताको महत्त्वमा जोड दिइन् ।
निमिश जोसेफको प्रेरणादायक सत्रले सहभागीहरूलाई उनीहरूको नेतृत्व यात्रामा आफ्नो लचिलोपन र वृद्धिलाई आत्मसात् गर्न उत्प्रेरित गरेको थियो ।
सहकार्य, कार्यक्रमको प्रमुख विषय बनेको थियो । कार्यक्रममा रन्जीत आचार्यले सामूहिक सफलता हासिल गर्न टिमलाई सशक्तिकरण गर्ने सम्बन्धमा अन्तक्रियात्मक सत्र प्रस्तुत गरेका थिए ।
सन्दीप रतौरी र अनन्त कट्यानीले प्रतियोगिता व्यवस्थापनसम्बन्धी कार्यशाला सञ्चालन गरेका थिए, जसले टोस्टमास्टर्स प्रतियोगीहरूलाई व्यवस्थित गर्न आवश्यक भूमिका र जिम्मेवारीमा प्रकाश पारेको थियो ।
क्लब ग्रोथ डाइरेक्टर श्वेताङ्क शर्मा र प्रोग्राम क्वालिटी डाईरेक्टर गौरव चौधरीले डिस्ट्रिक्ट ४१ ड्यासबोर्डको परिचय गराइका थिए । यसले क्लबहरूलाई डिस्टिङगुइस्ड क्लबको उपाधि हासिल गर्न लक्ष्य निर्धारण र ट्रयाकिङ गर्न सघाएको थियो ।
साथै, कम प्रदर्शन गर्ने क्लबहरूको सुदृढीकरणका लागि रणनीतिहरू र दीर्घकालीन उत्तराधिकार योजना बनाउने विषयमा सत्रहरू पनि समावेश गरिएको थियो
नेतृत्वका लागि प्रेरणा, विकास र सेवा
नेतृत्वको गहन अध्ययनमा केन्द्रित उक्त तालिममा टिम निर्माण र विवाद समाधानजस्ता विषयहरूमा विशेष सत्रहरू समावेश गरिएको थियो ।
सन्दीप रतुरीले टिम निर्माणका पाँच चरणहरूबारे विस्तृत जानकारी गराउँदै प्रभावकारी संवाद र आपसी सम्मान मार्फत कसरी चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई मार्गदर्शन गरेका थिए ।
त्यस्तै, विनय जैनको सत्रले नेतृत्वकर्ताहरूलाई उद्देश्य–प्रेरित सफलतामा ध्यान दिन प्रेरित गर्दै चुनौतीलाई प्रभावकारी परिवर्तनको अवसरका रूपमा लिन आह्वान गरेको थियो । उक्त तालिममा संगठनात्मक विकासका लागि नवीन रणनीतिहरूको विषयमा पनि छलफल भयो ।
निमित मित्तल र राजु चौहानले टोस्टमास्टर्सका कार्यक्रमहरूलाई कर्पोरेट मूल्याङ्कन प्रणालीसँग जोड्ने र सञ्चार माध्यममार्फत उपलब्धीहरुलाई प्रचार गरी टोस्टमास्टरको दृश्यता र सदस्यता विस्तार गर्ने रणनीतिहरू प्रस्तुत गरे ।
अनन्त कात्यानीले नेतृत्वलाई सेवाको रूपमा पुनर्परिभाषित गर्दै, जोन सी. म्याक्सवेलको ‘नो द वे, गो द वे, एन्ड सो द वे’को उदाहरण दिए । उनले सहभागीहरूलाई प्रभाव र प्रेरणा दिन सक्ने क्षमता राख्ने सहयोगपरक नेतृत्व शैली अपनाउन प्रेरित गरे ।
त्यस्तै रन्जीत आचार्यको सत्रले ‘एटमिक ह्याबिट्स’को अवधारणामा आधारित निरन्तर सुधार र लचिलोपनमा जोड दिंदै साना प्रगतिहरूमा ध्यान केन्द्रित गर्न आग्रह गर्यो ।
भविष्यको लागि तयार नेतृत्वको विकास
कार्यक्रमको अन्त्यमा दीप्ती आचार्य र निमिश जोसेफले प्रस्तुत गरेको कार्यान्वयन योग्य योजना विशेष आकर्षण रहेको थियो । यी योजनाहरू सदस्यता वृद्धिका उपायहरू, नयाँ क्लब स्थापना गर्ने अवसरहरूको पहिचान, र जिल्ला स्तरीय प्रतियोगिता तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता प्रोत्साहित गर्ने विषयमा केन्द्रित थियो ।
नेतृत्वका सदाबहार सिद्धान्तहरूलाई नवीन अभ्यासहरूसँग समायोजन गर्दै उक्त डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्रामले व्यक्तिगत र व्यावसायिक उत्कृष्टता प्राप्त गर्ने टोस्टमास्टर्सको उद्देश्यलाई थप सुदृढ बनाएको छ ।
सहभागीहरूले नेतृत्व क्षमता विकासको लागि नयाँ टुल्स, रणनीति र प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरे । डिस्ट्रिक्ट ४१ को नेतृत्व विकास सम्बन्धी उक्त तालिमले टोस्टमास्टर्सको यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ, जसले डिस्ट्रिक्ट ४१ लाई मात्रै नभएर समग्र टोस्टमास्टर्स समुदायलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराएको छ ।