काठमाडौँ / सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिई आज सोमबारदेखि एलएस क्यापिटलको नाममा एकीकृत कारोबार सुरु गरेको छ ।
नेपालको एक बिशाल मर्चेण्ट बैङ्किङ्ग कम्पनीका रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेको सो कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।
विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैङ्किङ्गले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आईरहेको र दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको छ ।
मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने बिजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।
साथै, मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैङ्किङ्ग तथा इन्भेष्टमेन्ट बैङ्किङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरूको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरूलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ । एकीकृत कारोबारसँग आफ्ना ग्राहकहरूलाई थप सशक्त रूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिएको सो कम्पनीले जनाएको छ ।
नेपालको पुँजी बजारमा ३ दशक लामो ऐतिहासिक सफलता बोकेको यस मर्चेण्ट बैङ्किङ्गको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात ४८ करोड ८९ लाख कायम भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा सेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाउन सफल भएको छ ।
साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरीसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आईरहेको जसअन्तर्गत ७ अरबको सम्पत्ति व्यवस्थापन भइरहेकोे, एक बिशिष्टीकृत लगानी कोष अन्र्तगत प्राइभेट इक्विटी भेन्चर क्यापिटल फण्डको रूपमा १ अर्ब बराबरको लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड सञ्चालनमा रहेको, ३२ वटा कम्पनीहरूको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।