काठमाडौँ / सोमबार उच्च अङ्कले बढेको नेप्से परिसूचकमा मङ्गलबार नै गिरावट आएको छ । बिक्रीकर्ताको चाप उच्च हुँदा सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन ।आइतबारको तुलनामा सोमबार नेप्से ४४.३० अङ्क अर्थात २.२८ प्रतिशत बढेर १ हजार ९८६.९९ विन्दुमा पुगेकोमा आज मङ्गलबार भने १९.४२ अङ्क अर्थात ०.९७ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको देखिन्छ । सोमबार १ अर्ब ५१ करोड भन्दा बढीको कारोबार भएको बजारमा आज भने १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार अवधिभर २७६ धितोपत्रको २६ हजार ३०२ पटकमा ३९ लाख १६ हजार १६१ कित्ता शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यो दिन नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.५० अङ्क अर्थात ०.६५ प्रतिशतले घटेर ३७९.१४ अङ्कमा सीमित भएको छ ।
आज म्युचुअल फण्ड बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ भने फाइनान्स १.९२ प्रतिशत, विकास बैङ्क समूहको १.४४ प्रतिशत, वित्त र जीवन निर्जिवन बिमा समूहको १.४० प्रतिशत, हाइड्रो पावर समूहको १.५६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङको १.०८ प्रतिशत, जीवन बिमाको ०.९९ प्रतिशत, इन्भेस्टमेन्टको १.३१ प्रतिशत, व्यापारको ०.७८, अन्यको ०.२४ प्रतिशत र बैङ्किङ उपसूहको परिसूचक ०.४३ प्रतिशतले घटेको छ ।
यो दिन शुभम पावर लिमिटेडको सेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ८१४ रुपैयाँ ६० पैसा पुगेको छ भने थ्री स्टार हाइड्रो पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेर ३४० रुपैयाँ २० पैसामा झरेको छ ।
यसैगरी आज नेपाल एसबिआई बैङ्कको सेयर कारोबार सबैभन्दा बढी भएको देखिन्छ । यो कम्पनीले कुल कारोबार रकमको ७ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने शिवम् सिमेन्टले ६ करोड ३५ लाख १० हजार र एभरेस्ट बैंकले ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
पछिल्लो समय सेयर बजारमा अस्थिरता देखिएको छ । मौद्रिक निति सार्वजनिक पछि बजार करीब डेढ महीना जति लगातार घटेको बजार सोमबार केही सम्हालिन खोजे पनि नाफा बुक गर्नेहरू हाबी हुँदा मङ्गलबार नै घटेको हो ।
लाभांशको सिजन सुरु भएको कारण खरिदकर्ताहरू हाबी हुने भनिए पनि ठुला लगानीकर्ताहरू अर्थतन्त्र नै सुस्ताएको भन्दै पर्ख र हेरको अवस्था छ । जसले गर्दा सेयर बजार स्थिर हुन सकेको देखिदैन ।