काठमाडौँ / भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरिद गर्ने समय थपिएको छ । मागअनुसार आवेदन नपरेपछि कम्पनीले भदौ ३१ गतेसम्मको आवेदन दिन पाइने समय थपेको हो । यसअघि भने भदौ २४ गतेसम्म मात्रै समय तोकिएको थियो ।
भदौ २३ गतेसम्म ४० हजार २९६ जनाबाट २१ लाख ८४ हजार २५२ कित्ता हकप्रद सेयर खरिद माग भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासनमा आएको हो ।
हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । हकप्रद सेयर खरिदका लगानी लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरू तथा सीडीएससीको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँ एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रबर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा लगानी गर्ने उल्लेख गरेको छ ।