काठमाडौँ / पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेटेका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुवैको उपचार भैरहेको छ । मन्त्री पौडेलले चिकित्सकहरुबाट राम्रोसँग उपचार भैरहेको पाएको र कुनै कर्मी नल्याउनका लागि अनुरोध गरेको बताए ।
मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरु प्रतिबद्ध रहेको भन्दै त्यसकैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइरहेको बताए ।
“जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागि रहेका छौँ,” उनले भने, “सुधारका कामले नतिजा दिन थालिसकेका छन् ।”
त्यसक्रममा उनले अरु बिरामीहरुको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएका छन् । वीर अस्पताल अन्र्तगत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भैरहेको छ ।
वार्डको मन्त्री पौडेलले शुरुवात गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पतालहरुमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको छ ।