काठमाडौँ / सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबिच विभिन्न विषयमा समन्वय गर्ने सहमति भएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा आपूर्ति सहमति बनेको हो ।
सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न चार वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरूबिच भएको छलफलमा औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा हातेमालो गर्ने सहमति बनेको सिमेन्ट उत्पादक संघले जनाएको छ ।
उक्त सहमति बमोजिम सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिनेछ ।
सो अवसरमा उद्योगहरूमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङ्लाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्न उद्योग मन्त्रालयको तर्फबाट वातावरण बनाउने विषयमा समेत समझदारी बनेको छ ।
साथै, सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्याहरूलाई मनन् गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्नेसमेत सहमति भएको छ ।