काठमाडौँ / मङ्गलबार सार्वजनिक बिदाका कारण बन्द भएर बुधबार खुलेको सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजार सूचक नेप्से आज १.८३ अङ्कले बढेर २५९५.९६ बिन्दुमा पुगेको हो । बुधबार १२४ ओटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ ओटाको घट्यो । त्यस्तै, १० ओटा कम्पनीका मूल्य स्थिर रह्यो ।
यो दिन सेयर कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । २९९ धितोपत्रको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ६३ हजार ३७४ पटकमा किनबेच भएको छ ।
आज सेयर बजारमा सामान्य सुधार देखिनुको कारण विकास बैंक, होटल्स तथा पर्यटन र हाइड्रोपावर समूह छन् । सर्वाधिक बढी हाइड्रोपावर समूहको सूचक १.७६ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको १.६३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक १.०८ प्रतिशतले बृद्धि भएको छ ।
यसैगरी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापारिक समूहको परिसूचक सामान्य बढेको छ । यता, वित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक बढी गुमाएका छन् । यो समूहको परिसूचक ३.४८ प्रतिशतले घट्दा बैंकिङ समूह ०.८१ प्रतिशत, लघुवित्त ०.५२ प्रतिशत, निर्जीबन बिमा ०.४१ प्रतिशतले घटेको छ भने लगानी र म्युचुअल फण्डको सूचकसमेत घटेको छ ।
यो दिन दोल्ती पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने सुपरमादी हाइड्रोपावरको ९.८१ प्रतिशतले बढेको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्स, जानी फाइनान्स र नेपाल फाइनान्सको सेयर मूल्यमा पनि आज उच्च गिरावट आएको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेको छ । यो कम्पनीको आज ३२ करोड ३९ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भयो ।