काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए ।
उनले भने, “आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनिय बनाउनका लागि सबैको कर्तव्य हो । मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ । र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ ।”
त्यस्तै, उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए ।
उनले भने, “नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारको लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ । आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ ।”
त्यस्तै अर्का नेता राजन केसीले राजीनितक क्रान्ति सफल पारेपनि आर्थिक क्रान्ति भने सफल पार्न नसकिएको भन्दै त्यही कारणले राजनीतिक सफलता कुनैपनि बेला धरापमा पर्न सक्ने खतरा रहेको बताए ।
उनले भने, “हामीले राजनीतिक क्रान्ति त सफल पार्यौ तर आर्थिक क्रान्ति भने सफल पार्न सकेनौँ । त्यसैले हामीले ल्याएको राजनीतिक सफलता पनि कुनै पनि बेला धरापमा पर्न सक्छ ।”