काठमाडौँ / व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । चोभार सुख्खा बन्दरगाह चोभारका स्थानीय गोविन्द थापा सुख्खा बन्दरगाहको सुरुवात गर्दा जति व्यापारीक चहलपहलको अपेक्षा गरिएको थियो त्यो नभएको बताउँछन् ।
“सुख्खा बन्दरगाहको सुरुवात गर्दा जुन व्यापारको अपेक्षा गरिएको थियो त्यो चाहिँ भएको छैन । वास्तवमा बन्दरगाह क्षेत्रमा व्यापार बढ्छ भनिएको थियो । तर त्यस्तो छैन । यसरी हेर्दा यो अनावश्यक देखियो,” उनी भन्छन्, “यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मक नभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो । त्यो पनि अध्ययन नै नगरी । हिजोआज यहाँ दुईवटा गाडी मात्र आउँछन् ।”
हाल सुख्खा बन्दरगाहमा दैनिक दुईवटा कन्टेनर मात्र भन्सार जाँचपासका लागि आइपुग्छन । नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहको भन्सारतर्फको ट्राफिक कम हुनुको मुख्य कारण काठमाडौं–तराई फास्ट ट्रयाकको निर्माण ढिलाइ हो ।
यद्यपि, चीनको तातोपानी र रसुवा नाकाबाट सिधै चोभार सुख्खा बन्दरगाहमा भन्सार गराउने सुविधा सुरु भइसकेको छ । उनले भने, ‘फास्ट ट्रयाक सम्पन्न भएपछि यहाँको ट्राफिक दोब्बरले बढ्नेछ ।’
कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहको मुख्य व्यापार लजिस्टिक हब भएको बताए । गजुरेलले भने, “चोभार सुख्खा बन्दरगाहमा संचालनमा ल्याइएको लजिस्टिक हबले व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । लजिस्टिक हबमार्फत प्रोसेसिङ, प्याकेजिङ र लेबलिङको सुविधा हामीले उपलब्ध गराएका छौँ, जसले व्यापारलाई चलायमान बनाएको छ ।”
गजुरेलले सुख्खा बन्दरगाहलाई निजी क्षेत्रले संचालनमा ल्याएपछि सेवा र आम्दानीमा सुधार आएको बताए । “निजी क्षेत्रले वार्षिक तीन करोड रुपैयाँ न्यूनतम राजस्व दिन्छ । ट्राफिक बढेसँगै अबको पाँच वर्षमा ८–१० करोड रुपैयाँ आम्दानी गर्न सकिने देखिएको छ,” उनले थपे ।
आगामी दिनमा सुख्खा बन्दरगाहको क्षमताले नपुग्ने अवस्था आउन सक्ने भन्दै गजुरेलले हिमाल सिमेन्टको सातसय रोपनी जग्गामध्ये तीन सय रोपनी बन्दरगाहको विस्तारका लागि माग गरिएको बताए ।
“भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा सुख्खा बनदरगाहको क्षमताले भ्याउँदैन । हामी अहिले त्यसको तयारीतिर लागेका छौँ,” उनले भने, “यो कुरा मैले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । हिमाल सिमेन्टको सात सय रोपनी जग्गा छ त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरू सकारात्मक नै हुनुहुन्छ ।”
चालू आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले भने, “यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ । यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहको राजस्व सङ्कलन लक्ष्य २७ करोड ९३ लाख एक हजार रहेकोमा ३३ करोड ७२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।”
विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको बन्दरगाह काठमाडौँका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि संचालनमा ल्याइएको हो ।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना भने न्यून देखिएको स्थानीयको बुझाइ छ ।