काठमाडौँ / सेयर बजार परिसूचक (नेप्से) मङ्गलबार झिनो अङ्कले उकालो लागेको छ । यसअघिका केही कारोबार दिन लगातार घटेको बजार मङ्गलबार भने २.९५ अङ्कले बढेको हो ।
झिनो अङ्कले बढेको नेप्से परिसूचक २ हजार ६ सय ३३.८७ बिन्दुमा पुगेर थामिएको छ । यो दिन ३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।
यो दिन ११७ कम्पनीको मूल्य बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भको छ ।
सोमबार पोजेटिभ सर्किट लागेको कुथेली बुखारी जलविद्युतको सेयर मूल्यमा आज भने नकारात्मक सर्किट लागेको छ। यसैगरी, आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घटेको छ ।
आज जानकी फाइनान्सको कारोबार रकम सर्वाधिक बढी रहेको छ । यो कम्पनीको २२ करोड २४ लाख रुपैयाँबढीको सेयर कारोबार भएको हो । मङ्गलबार १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये ८ ओटाको परिसूचक बृद्धि भएको छ । त्यस्तै, ५ ओटा समूहको सूचक भने घटेको छ ।
यो दिन सबैभन्दा बढी वित्त समूहको परिसूचक ०.८७ प्रतिशतले बढेको छ भने व्यापारिक समूह ०.५९ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०.५६ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ०.६५ प्रतिशतले घटेको छ ।