images
images

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल फागुन १५ देखि १८ सम्म

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल फागुन १५ देखि १८ सम्म

शनिवार, फागुन १० २०८१
शनिवार, फागुन १० २०८१
  • images
    images
    एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल फागुन १५ देखि १८ सम्म
    images
    images

    पोखरा / एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म पोखरामा हुने भएको छ ।  फेस्टिभलको बाह्रौँ संस्करणलाई आयोजक बुकवर्म फाउन्डेसन थप विशेष र उत्साहजनक बनाउने लक्ष्य राखेको छ । 

    साहित्यको उक्त  ‘कुम्भमेला’ मा यहाँहरूको सहयोग यसअघिका संस्करणहरूमा जस्तै रहने अपेक्षा रहेको आयोजकको भनाइ छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । 

    सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् । एनसेल फाउन्डेसनका प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुद्ध एयरले सम्वर्द्धन गरेको छ। 

    पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ । त्यस्तै उप–प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिनेछन्।

    यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । 

    त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ । 

    उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएाओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए।

    विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ।

    यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ । 

    उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ । 

    नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा.भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । 

    म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन् ।

    नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ ।

    उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । 

    उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन्। 

    फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने अपेक्षा रहेको आयोजकले जनाएको छ । 

    सिर्जनाको अर्को विधा चित्रकला सधैँ फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् ।

    उनका चित्रले फेस्टिभलमा विशेष रङ थप्ने हाम्रो विश्वास छ । 

    “सधैँ जस्तै यसपटक पनि हामी शब्दसँगै सङ्गीतको तालमा झुम्नेछौं । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई सङ्गीतमय बनाउनेछ,” आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै, नेपाली सङ्गीत जगत्का पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् । 

    परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । 

    काठमाडौँ विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको सङ्गीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।

    फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुनेछ। उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार