काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३.१४ अङ्कले बढेर २ हजार ७४३.७४ बिन्दुमा पुगेको छ । बुधबार सार्वजनिक बिदापछि बिहीबार खुलेको बजारमा जीवन बिमा र व्यापारिक समूहमा लगानीकर्ताको आकर्षण बढेको छ ।
नेप्से सामान्य बढेको आजको दिन कारोबार रकमसमेत घटेको छ । मङ्गलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको कारोबार रकम आज ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।
आज १५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८१ वटाको मात्रै बढेको छ । त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ३०९ धितोपत्रको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८६ हजार २२३ पटकमा खरिद बिक्री भएको छ ।
व्यापारिक र जीवन बिमा लगानीकर्ताको आकर्षण
बिहीबार १३ ओटा समूहमध्ये ४ ओटा समूहको मात्रै परिसूचक बढेको छ । जसमा सबैभन्दा बढी व्यापारिक समूहको परिसूचक ३.७७ प्रतिशतले बढेको छ । यसैगरी, जीवन बिमाको परिसूचक २.४२ प्रतिशत, निर्जीबन बिमाको ०.६३ प्रतिशत र अन्य समूहको परिसूचक ०.५७ प्रतिशतले बृद्धि भएको छ ।
आज सर्वाधिक बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८४ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ् समूहको ०.५५ प्रतिशत, विकास बैंक ०.५२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७५ प्रतिशतले घटेको छ । अन्य समूहको परिसूचक पनि सामान्य घटेको छ ।
बिहीबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले बढेको छ । यसैगरी वीन नेपाल लघुवित्तको सेयर मूल्य ९.६९ प्रतिशत र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१४ प्रतिशतले सेयर मूल्य बृद्धि भएको छ ।
आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ ।
बिहीबारको कारोबार रकममा नेपाल पुनर्विमा कम्पनीको हिस्सा सबैभन्दा बढी छ भने दोस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स छ । यी दुई कम्पनीको सेयर कारोबार रकम क्रमशः ६५ करोड ६६ लाख ७ हजार रुपैयाँ र ३८ करोड ३७ दलाख २७ हजार रुपैयाँ छ ।