काठमाडौँ / सन् २०२४ को अक्टोबर महिनामा नेपालमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत बर्षको तुलनामा ६.०४ प्रतिशतले बढी हो । २०२३ को सोही अवधिमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटकको आवागमन गत बर्षको तुलनामा सामान्य बढेको भए पनि यो सङ्ख्या उत्साहजनक होइन ।
अहिले पर्यटक भित्रिने मूख्य सिजन भए पनि नेपालमा पछिल्लो समय घटेको प्राकृतिक विपत्तिले सङ्ख्यामा कमि आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण अक्टोबर महिनामा लक्ष्य अनुसार पर्यटक नआउनुमा नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले बताए । सन् २०१९ अक्टोबरमा भने नेपालमा १ लाख ३४ हजार पर्यटक नेपाल भित्रिएका थिए ।
असोजको पहिलो साता नेपालमा गएको बाढी पहिरोले प्रभावित हुँदा दुई साता पर्यटक आवागमन खस्किएको उनले जानकारी दिए । बाढी पहिरोपछि कतिपय पर्यटकहरूले बुकिङसमेत क्यान्सिल गरेको अर्थ डबलीसँगको कुराकानीमा उनले बताए ।
यद्यपि, बोर्डले पर्यटकमैत्री सूचना प्रवाह गरेपछि भने अक्टोबरको तेस्रो सातादेखि भने पर्यटक आवागमन बृद्धि भएको निर्देशक लामिछानेले जानकारी दिए ।
विपत्तिपछि सरकारले गर्ने रेसपोन्सका आधारमा पर्यटकहरू आउने भएकोले बोर्डले छुट्टै वेभसाइट बनाएर अवस्थाबारे जानकारी दिएको उनले बताए । आधिकारिक समाचारहरू पठाएपछि कतिपय पर्यटकहरूले क्यान्सिल गरेपछि पनि पुनः बुकिङ गरेको उनी बताउँछन् ।
उनका अनुसार सन् २०२४ मा १२ लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य भने पनि विपत्तिका कारण उक्त लक्ष्य पूरा हुन मुस्किल देखिन्छ । कोभिड सुरु भए यता नेपालमा खस्किएको पर्यटन आवागमनमा गत बर्षदेखि सुधार आइरहेको छ ।
१० महिनामा कति पर्यटक आए ?
सन् २०२४ को १० महिनामा ९ लाख ४१ हजार ३२ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्क छ । गतवर्ष १० महिनामा ८ लाख ९ हजार ६ सय ७८ पर्यटक भित्रिएका थिए । बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा सबैभन्दा बढी पर्यटक मार्च महिनामा आएको छ भने जुलाई महिनामा आएको देखिन्छ ।
मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटक नेपाल भित्रिएका थिए भने जुलाईमा ७६ हजार ७३६ मात्रै आएका थिए ।
त्यस्तै, जनवरीमा ७९ हजार १ सय जना, फेब्रुअरीमा ९७ हजार ४२६ जना, अप्रिलमा १ लाख ११ हजार ३७६ जना, मेमा ९० हजार २११ जना, जुनमा ७६ हजार ७३६ जना, अगस्टमा ७२ हजार ७११ जना, सेप्टेम्बरमा ९६ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ ।
कुन देशबाट कति ?
नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गरेको तथ्याङ्कले देखिएको छ । अक्टोबरमा भने भारतीय पर्यटकको हाराहारीमा अमेरिकी पर्यटक आएका छन् । भारतबाट १६ हजार ३१३ जना पर्यटक नेपाल भित्रिदा अमेरिकाबाट १६ हजार २३ जना भित्रिएका छन् ।
त्यस्तै, बेलायतबाट ८ हजार १९, चीनबाट ७ हजार ७ सय ५०, अष्ट्रेलियाबाट ६ हजार ९ सय २९ र जर्मनीबाट ६ हजार १८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अक्टोबरमा फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार १२५ र इटालीबाट २ हजार ६३५ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्क छ ।