images
images

उज्यालो जिन्दगी बाँचिरहेका गौतम पोखरेल

उज्यालो जिन्दगी बाँचिरहेका गौतम पोखरेल

जिन्दगीमा केही गर्न सकिनँ भन्ने युवाहरूका लागि उदाहरण हुन् गौतम ।

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • उज्यालो जिन्दगी बाँचिरहेका  गौतम पोखरेल
    images
    images

    जीवन, समय, सौन्दर्य र रङ्गको न आकार हुन्छ न त सुगन्ध नै । यदी, हुन्थ्यो भने हरकोहीले यसलाई परिभाषित गर्न सक्थे होलान् । अधिकांश मानिसहरूले गर्ने परिभाषा मिल्थे होलान् । 
    एक अर्काको पर्याय यी चार ओटा शब्द, शब्द मात्रै होइन । यसलाई परिभाषित गर्नुप¥यो भने भोगेको परिस्थिति र बाँचेको समयलाई साक्षी राख्नुपर्छ । स्याङ्जा, पुतली बजार–४ का गौतम पोखरेल पनि आफूले बाँचेको समयको पाना पल्टाउँछन् र जीवनलाई परिभाषित गर्छन् । 

    हाल नेपाल टेलिकममा सहायक प्रशासकीय अधिकृत रहेका उनी पूर्ण रूपमा दृष्टिविहीन छन् । मानव जीवन प्राप्तिका लागि केही न केही उद्देश्य छ जस्तो लाग्छ उनलाई । आँखा देख्नु र नदेख्नुले जीवनको परिभाषा नै बदल्छ जस्तो नाग्ने गौतम बताउँछन् । भन्छन्, “जीवनशैली केही सहज होला जस्तोचाहिँ लाग्छ ।”  
    जन्मदा पूर्ण दृष्टिविहीन गौतमलाई बुवाले सानैमा उपचारका लागि इन्डिया लगेका थिए । शल्यक्रियापश्चात दायाँ आँखा सामान्य देख्ने भएका उनीसँग उकाली ओराली गरेको, साइलकल चलाएको, गठालो गएको, घाँसदाउरा गरेको, पौडी खेलेको आदि अनुभव छन् ।

    देवघाटबाट सुरु भयो जीवनको यात्रा

    गौतमले औपचारिक शिक्षा सुरु गर्दा उनी १२ बर्षका थिए । मामाले देवघाट लानु भएपछि उनले ब्रेललिपिबाट कखरा सिक्न थालेका हुन् । त्यसो त उनले गाउँकै कालिका बोर्डिङ स्कुलमा ४ कक्षासम्म पढिसकेका थिए । दृष्टिविहीनहरूकै स्कुलमा पढाउन सम्भव नभएपछि उनलाई बुवाले गाउँमै पढाएका थिए, जहाँ उनले परीक्षामा पनि लेख्नु परेन । प्रश्नको उत्तर भनेपछि पास हुन्थे गौतम । उनलाई जीवनको यात्रा देवघाटबाटै सुरु भए जस्तो लाग्छ । 

    गौतम भन्छन्,“त्यसबेला म आँखा पनि देख्थेँ । अहिले पो पूर्ण रूपमा देख्न नसक्ने भएँ । मामाले देवघाट लगेर नपढाउनु भएको भए म अहिलेको अवस्थामा मलाई धेरै गाह्रो हुन्थ्यो ।” देवघाटमा ३ कक्षाबाट औपचारिक शिक्षा लिन सुरु गरेका गौतमको करियर निर्माणमा भने पोखराको अमरसिंह स्कुलको ठूलो भूमिका छ । 

    पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नमा अमरिसिंह कोशेढुङ्गा सावित भएको उनी बताउँछन् । पहिलो परीक्षामा नै प्रथम भएका उनलाई विद्यालयको वातावरण, शिक्षक र साथीभाइको सहयोग उत्तिकै मिल्यो । तीक्ष्ण बुद्धिका सिर्जनात्मक क्षमता पनि थपिएको उनले बताए । 

    त्यसपछि काठमाडौँको हिमालयन ह्वाइट इन्टरनेशन कलेजमा साइन्समा भर्ना हुन आए गौतम । आँखा नदेख्ने मान्छेले साइन्स पढ्न सम्भव हुन्न भने पनि गौतमले जिद्दी छोडेन्न । अन्ततः उनी शिक्षा र साथीहरूको सहयोगले विशिष्ट श्रेणीमा साइन्स पास भए । 

    “मैले धेरै जिघी गरेपछि आफूले रोजेअनुसारको विषय पढ्न पाएँ । त्यहाँ धेरै गाह्रो भयो । किताब केही नहुने । म होस्टेल बसेँ । शिक्षक र साथीहरूको सहयोगले विशिष्ट श्रेणीमा पास हुन सफल भएँ,” उनले भने । 

    गौतमको सपना इन्जिनियर बन्ने थियो । अमेरिका जान छात्रवृत्ति पाएपछि तयारीमा लागेका गौतमले त्यहाँ गएर अध्ययन गर्न पूर्ण छात्रवृत्ति भने पाएनन् । त्यसपछि उनले महसुस गरे–विभेद नेपालमा मात्रै होइन अमेरिकामा पनि रहेछ । 
    त्यसपछि अमेरिका सपना त्यागेर लोकसेवा तयारीमा लागेका गौतमले नेपाल टेलिकममा नाम निस्कन्छ भनेर आश गरेका थिएनन् । टेलिकममा जागिर सुरु गरेपछि भने उनलाई अन्त जाने इन्छा भएन । 

    आँखामा बढ्दै गएको कालो दृश्यले मनमा दिएको चोट 

    जीवनको १५ बर्षसम्म स्थिर रहेको उनको आँखाको भिजन आँखामा देखिएको कालो रङ्गले खोस्यो एक दिन । त्यो दिन उनलाई आजै जस्तो लाग्छ । टाढाको दृश्य नदेख्ने उनलाई अरुले ‘यसले आँखा देख्दैन’ भनेको मन नपर्ने । कमजोर छ मात्रै भनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । 

    आँखाकै साहाराले उनले भारी बोकेर आँधीखोलासम्म ओहोरदोहोर गरेका थिए, आँधी खोलामा पौडी खेलेका थिए । 

    gautam.JPG

    वि.सं. २०६५ सालमा अमरसिंह स्कुलमा पढ्न आउँदा उनी स्टेन म्याग्निफायर (अक्षरहरू ठूला बनाउने प्रविधि) प्रयोग गर्थे । कहिले देखेजस्तो लाग्ने, कहिले नदेखेजस्तो ! देख्नु र नदेख्नुबिचको दोधारमा पर्थे उनी । कति बर्षसम्म अन्दाजको भरमा हिडे तर, अरुलाई भनेनन् ।
     
    वि.सं. २०६७ मंसिर ७ गते बिहान उठ्दा उनले आफ्नो आँखामा कालो कालो जस्तो महसुस गरे । “के भयो भनेर त्यो दिनभर मैले कालो चस्मा लगाएर हिँडे ।

    भोलिपल्ट त्यो कालो अझै बढ्यो । त्यो दिन म निबन्ध प्रतियोगितामा गएको थिएँ,” उनी सम्झन्छन्, “निबन्ध लेख्न छिर्दासम्म अलिअलि देख्दै थिएँ तर निस्कदा घट्दै गयो र त्यो दिनभरमा मेरो आँखाको दृष्टि पुरै गयो ।”
    देख्छु कि भन्ने आश भने रहिरह्यो मनमा । 

    डाक्टरले ‘इम्प्रुभ हुँदैन’ भने तर, पनि उनको आश मरेन । पहिलो पटकको भेटमा डा. सन्दुक रुइतलाई पनि विश्वास गरेनन् उनले । दोस्रोपटक श्रीमतीसहित डा. रुइतलाई भेट्न पुगेका उनले त्यो पटक भने विश्वास गर्नुपर्यो । राम्रो नदेख्दा पनि कहिल्यै सानो चित्त नबनाएका उनको मनमा गहिरो चोट लाग्यो जब दोस्रो पटकको भेटमा डा. रुइतले ‘तिम्रो आँखा ठिक हुँदैन’ भनेका थिए । उनलाई थाहा छ, अहिलेको टेक्नोलोजीले जहाँ गए पनि आँखामा दृष्टि फर्कदैन ।

    ‘आँखा देख्दिनँ’ भन्ने कुरा बिर्सने गौतम 

    मनमौजी हिड्ने गौतमलाई आँखा पूर्ण रूपमा नदेख्दा भने समस्या भयो । हिडिरहने बाटोमा पनि घण्टौँसम्म हराए । लठ्ठीकै साहारामा हिड्दा पनि कहिले खाल्टोमा पर्थे, कहिले कुकुरलाई कुल्चिन्थे । दुई÷तीन पटक त कुकुरले पनि टोकेको छ । उनी अहिले पनि हिड्न सक्छन् ।

    तर अव्यवस्थित सडकले आँखा भएकाहरूलाई त गन्तव्यसम्म पुग्न समस्या छ । एक ठाउँबाट अर्को ठाउँ पुग्न चुनौति झेलिरहेका उनी आफैँ गाडि चढेर अफिस आउँछन्, जान्छन् । तर, काठमाडौँको केन्द्र आरएनएसीको बाटो नै खराब भएपछि आफिस आउन जान पनि समस्या भएको उनी बताउँछन् । उनी भन्छन्, “ आरएनएसीको साह्रै खराब छ । त्यहाँ मेयर बालेनज्यूको आँखा नपरेको हो कि उहाँको कार्यक्षेत्रभित्र पर्दैन । हामी आँखा नदेख्नेहरूका लागि त्यो बाटो हिड्नु जिउँदो नर्क जस्तो छ ।”

    बाटोको समस्याले उनी चप्पल नै लगाएर हिड्छन् । पहिले काठमाडौँको सडकहरूमा धेरै पटक हराएको तितो अनुभव छ गौतमलाई । “कीर्तिपुरबाट पुरानो बसपार्कमा झरेर त्यहाँबाट हिँडेर थापाथली पुगेको छु । कति जनालाई सोधियो होला । केकेमा ठोक्किए हुँला ।

    बिजुलीको पोलमा, छड्के परेको रुखहरूमा, पुलमा र गाडिहरूमा पनि ठोक्किएको छु ।” हिड्दा फोकस भएन भने ठोक्किने सम्भावना बढी हुने उनी बताउँछन् । त्यसो त गौतम आफ्नो काम आफैँ गर्न सक्छन् । विवाहअघि होस्टेल र कोठा लिएर बस्दा खाना बनाउथे । अफिस आउँदा खाजा आफैँ बनाएर ल्याउथे । उनी आफ्नो सबै काम आफैँ गर्थे । 

    अहिले भने उनले श्रीमतीको गतिलो भर पाएका छन् । कहिलेकाहीँ आँखा देख्दिनँ भन्ने कुरा नै भुल्ने गरेको उनी बताउँछन् । 

    जन्मजात नै आँखा नदेख्नेहरूलाई आत्मविश्वास जगाउनु पर्ने तथा सही र गलत व्यवहारहरू अभिभावकले नै बताउनुपर्ने उनको भनाइ छ । दृष्टिविहीन बालबालिकाहरूका लागि घरपायक विद्यालय हुँदैन । त्यसैले उनीहरू सानैदेखि घर र अभिभावकबाट टाढा पुग्नुपर्ने बाध्यता छ । उनका अनुसार आँखा नदेख्नु मात्रै समस्या होइन । पूर्वाधार, आर्थिक अवस्था, पारिवारिक सहयोग आदिले पनि धेरै सहयोग पुग्छ । 

    कामले दिएको खुशी 

    जीवन भनेको जन्म र मृत्युबिचको समय हो । समय कसैको वशमा हुँदैन तर जीवनमा गरिने कतिपय कर्मले मानिसलाई खुशी तुल्याउँछ त कतिले दुःखी । दुःख र सुख जीवनको दुई पाटा हुन् । यी दुबैलाई व्यवस्थापन गर्न सके जीवन सुन्दर हुने गौतमको बुभाइ छ । 

    आफ्नो काम र पेसाले जीवनमा खुशी दिएको उनी बताउँछन् । हाल एफटिटिएचको मार्केटिङ सेल्स एण्ड सर्पोट डिपार्टमेन्टमा एफटिटिएच, नमस्ते वाइफाइ, एसआइपी सर्भिसलगायतका टेलिकमसँग सम्बन्धित सेवा प्रदान गर्दै आइरहेका गौतमको जागिरको सुरुवाती दिनहरू भने अलमलमा बिते । 

    “टेलिकममा जागिर पाउन वित्तिकै के हो कसो हो मेसो नै भएन । सुरुमा काउन्टरमा बस्दा मसँग केही पनि थिएन । कम्प्युटर पनि थिएन । मसँग ल्यापटप त थियो तर त्यसमा सिस्टम चल्दैन थियो,” उनले भने । 
    त्यसो त गौतमलाई टेलिकमको प्याकेजहरूलगायतका कुराहरू थाहा थियो, यसले काममा केही सहजता थपेको उनी बताउँछन् । 

    gautam ji.JPG

    सुरुका केही दिन अफिसमा शौचालय जान पनि समस्या भएपछि उनी सेल्स शाखामा सरे । त्यसपछि हामी सिआरएम चलाउन सिके उनले । उनले भने, “विस्तारै फाइबर इन्टरनेट आयो । ग्राहकहरूलाई सूचना डेलिभर, सामान्य कामहरू जस्तैः कलर आइडीहरू राखिदिने, कोडहरू राख्नेलगायतको काम गर्न थालेँ ।”

    सहकर्मीहरू सहयोगले एकपछि अर्को सिस्टम चलाउन पनि जानेको उनी बताउँछन् । अहिले उनी एफटिटिएचको सिपिजी हुँदै एफसिएमएसलगायतका सफ्टवेयर सजिलै चलाउन सक्छन् । ग्राहकहरूलाई राम्रोसँग सूचना डेलिभर गर्दा खुशी हुन्छन् उनी । गौतमका अनुसार सहकर्मी मात्रै होइन कार्यालय प्रमुख पनि निकै सहयोगी हुनुहुन्छ । 

    नेपालमा धेरै समस्या छ, नेपालमै रहेको नेपाल टेलिकममा समस्या नहुने कुरै हुँदैन । यद्यपि, अन्य क्षेत्रको तुलनामा टेलिकमले सस्तो र राम्रो सुविधा दिएको उनले बताए । 

    “टेलिकम क्षेत्र मात्रै यस्तो क्षेत्र हो जहाँको मूल्य सधैँ घटिरहेको छ । त्यसो भएको कारणले टेलिकमले ग्राहकहरूले सस्तोमा धेरै सुविधा दिएको छ । गाउँ गाउँमा फोरजी चल्छ । सुधार गर्नुपर्ने पक्ष पनि धेरै छन्,” उनी भन्छन्, “एफटिटिएचको मेन्टेनेन्समा चुस्त दुरुस्त सेवा पुर्याउनुपर्ने छ । फोरजी पनि राम्रो त छ तर काठमाडौँमै पनि कति ठाउँमा नेटवर्क टिप्दैन ।

     ग्राहकहरूलाई कहाँ समस्या छ खोजी खोजी तत्काल फोरजी सेवालाई चुस्तदुरुस्त बनाउन खटिरहेको छ ।”
     पाँच बर्षे जागिरे जीवनमा टेलिकम यहाँसम्म आउनुमा ग्राहकहरूको ठूलो योगदान रहेको उनले बुझेका छन् । टेलिकमको सेवा क्रमिक रूपमा सुधार भइरहेको र भोलिका दिनमा पनि अझै सुधार हुने उनले बताए । कम्प्युटरमा सफ्टवेयर इन्जिनियर पढ्न युएस जाने सपना त्यागेका उनी इन्जिनियर सरहकै पदमा रहेर काम गर्न पाउँदा खुशी छन् । 

    नोट नचिनेपछि सकेसम्म उनी कार्यालयमा रकम लेनदेन गर्ने काम गर्दैनन् । उनी भन्छन्, “पैसा लिन परेमा अरु सहकर्मीहरू हुन्छ । सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको हुन्छ । झुक्याउने भन्नेचाहिँ हुँदैन ।”  

    शिक्षण पेसा असाध्यै मन पराउने उनले पढाउनका लागि केही कलेजहरूमा कुरा राखे । उनीहरूले अप्ठ्यारो मानेपछि उनले कर गरेनन् । अहिले लोकसेवा तयारी कक्षामा पनि पढाइरहेका छन् । 
    हाल एलएलबि गरिरहेका उनी प्रविधिको सहयोगले अध्ययन, अध्यापनमा सहयोग पुगेको बताउँछन् । 
    पोलिसी मेकिङमा अर्थात डिसिजन मेकिङमा जान सकियो भने अझै प्रशासनमा भएका समस्या, कमि कमजोरीहरू पनि सुधार सकिएला कि भन्ने उनको तर्क छ । ‘अरुचाहिँ श्रीमानको बाइकमा पछाडि बस्छन्, मचाहिँ तपाईँलाई राखौँला’ 

    बाटोको आकार, वरपरको वातावरणबारे अज्ञात भएपछि अरुमा निर्भर हुनुपर्छ गौतमलाई । उनी धनगढी घुम्न गएको बेला चिनजान भएका एक व्यक्ति जसले उनलाई पालुङ आउने निम्तो दिएका थिए । पछि गौतमले उहाँकै छोरीसँग विवाह गरे । श्रीमतीको विषयमा कुरा गर्दा भावुक हुने गौतम भन्छन्, “मेरो शारीरिक कमजोरी देख्दादेख्दै पनि उनले मसँग जीवन बिताउने निर्णय गर्नु नै ठूलो कुरा हो ।” 
    त्यसो त गौतमले आफ्नो कमजोरी बताएरै विवाह गरेका हुन् । “मैले तिम्रा साथीहरू श्रीमानको बाइकमा पछाडि बसेर हिड्छन् यो देख्दा तिम्रो मनमा चोट पर्छ भनेको थिएँ । तर, उनले ‘अरु श्रीमान्को बाइकमा बस्छन्, म तपाईँलाई राखुलाँ’, त्यसपछि मलाई सम्बन्ध अगाडि बढाउन सहज भयो,” गौतम सम्झन्छन् । उनको अहिले ४ बर्षकी छोरी छिन् ।
     श्रीमतीको साथ र सहयोगले आफ्नो जीवनलाई थप उज्यालो बनाएको महसुस गरेका छन् गौतमले ।  

    देश बिगारे भनेर दोष अरुलाई दिएर भाग्न मिल्दैन 

    हाम्रा पुर्खाहरूले सदरमुकामसम्म आउन खाजा सामल हालेर आउनु पथ्र्यो । अहिले देशको जुनसुकै कुनाको मान्छे पनि आफ्नो क्षमता र योग्यताले भ्याएसम्म देश विदेश पुगिरहेका छन् । विदेशिनुलाई अहिलेको समयको उपहार मान्छन् गौतम । तर, यसले भयावह स्थिति निम्त्याएकोबारे चिन्तित पछि छन् ।

     
    “रोजीरोटी र उच्च शिक्षा अध्ययनका लागि विदेश जानु राम्रो हो । केही समय कमाएपछि, वा सिप तथा शिक्षा हासिल गरेपछि देशमै फर्किनु पर्छ । तर सरकारी जागिरेले नै जागिर छोडेर विदेशिनु पर्ने, करोडपति परिवारको छोराछोरी पनि विदेशिनुपर्ने, नेपालमा अवसर नदेख्नुचाहिँ भयावह स्थिति हो,” उनले भने । 


    नेपालीहरू अति नै महत्वाकांक्षी बन्दै गएको र भविष्यमा यसको मूल्य चुकाउनुपर्ने उनी बताउँछन् । कोरानाको समयमा धेरै नेपालीहरूलाई स्वदेश फर्कनु पर्यो । “अर्काको घर जति नै राम्रो भए पनि एक दिन आफ्नो घर फर्कनुछ भने आजैदेखि आफ्नै घरलाई राम्रो बनाउन किन लागि नपर्ने ?” उनले प्रश्न गरे । देश बिग्रिनुमा राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रसँगै सर्वसाधरण पनि जिम्मेवार हुनेतर्फ सचेत गराउँछन् गौतम । 

    सहयोग र अवसर चाहिन्छ, असशक्तता सफलतामा बाधक बन्न सक्दैन

    जिन्दगीमा केही गर्न सकिनँ भन्ने युवाहरूका लागि उदाहरण हुन् गौतम । कुनै दिन उनी पनि फ्रस्टेड थिए । उत्कृष्ट हुनका लागि जति धेरै पढेको भए पनि तनाव, लाइफ स्किल, सम्बन्ध म्यानेजमेन्ट गर्ने कुरा नपढेको कारण तनाव व्यवस्थापन गर्न समस्या भएको अनुभव छ गौतमलाई । 

    सहयोग र अवसर पाए शारीरिक असशक्तता कमजोरी नभएको उनले बताए । आफ्नो सफलताको पछाडि बुवा, आमा र श्रीमतीको ठूलो हात रहेको बताउँछन् उनी । टेलिकमले अवसर पनि उत्तिकै महत्त्वपूर्ण छ उनका लागि ।  
    अहिलेसम्म आफूलाई सहयोग गर्ने हजारौँ मानिसहरू पनि आफ्नो सफलताको हकदार भएको गौतमले बताए । 

    “हामी जस्ता दृष्टिविहिन सबैका लागि यस्तो सहयोग सधैँ चाहिन्छ नै । मैले आफूले आफैँलाई मोटिभेट गर्न सकेँ । गर्न नसक्नेलाई पनि तँ गर्न सक्छन् भनेर हिम्मत दिनुपर्छ,” उनले भने ।

    फरक क्षमता भएकाहरू सबै माग्ने नै हुने भन्ने गलत मानसिकताको शिकार भाएका छन् गौतम पनि । “जसलाई आवश्यकता छ उसलाई दिनु राम्रो हो तर सबैलाई केही गर्न सक्दैन भनेर सोच्नु गलत हो,” शारीरिक रूपमा केही कमजोरी देख्नसाथ माग्ने सम्झेर पैसा दिनेहरूलाई उनको सुझाव छ । 

    केही मानिसहरू आँखा नदेख्ने मानिसहरूको दिमाग खत्रा हुन्छ, यसलाई भगवानले हेर्छ भन्ने जस्ता गलत भाष्य र भ्रम त्याग्न उनको आग्रह छ । उनीहरू सामान्य मान्छे जस्तै रहेको र अशसक्तताको कारण जीवनयापन कठिन हुनेभएकोले अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने उनले बताए । 

    राम्रो, नराम्रो, बितेको समय आदिलाई सम्झेर दुःखी हुनुभन्दा जीवनलाई व्यवस्थित बनाउन सिक्नु पर्ने गौतम बताउँछन् । जहाँ पुग्दा तपाईँ आनन्द महसुस गर्नुहुन्छ, जे कुराले तपाईँलाई खुशी दिन्छ त्यो चिज वास्तवमै सुन्दर हुने उनको बुझाइ छ । फुसर्द हुँदा घुमफिरमा गइरहने उनी नयाँ ठाउँ जाँदा महसुस गरेर नै धेरै कुरा थाहा पाउने बताउँछन् । 

    आफूसँग जे छ त्यसमै रमाउन उनको सुझाव छ । “जुनसुकै समय पनि घर्केर जानेछ । समय भनेको कन्स्टेन्ट छैन । थोरै समयमा धैर्य गर्न सकियो भने जीवनले पनि साथ दिन सकिन्छ । सफल हुन सकिन्छ । धैर्य गरिदिनुस्,” उनले भने । उनका अनुसार समय भ्रम हो । उनले थपे, “जीवनलाई असाध्यै टेन्जिवल जस्तो बनाउन खोज्यौ । यस्तो हो, उस्तो हो भन्यौँ । सफलताको पछि दौडियौ ।

     लाइफलाई कम्प्लेक्स बनायौँ । जीवनको रियालिटी के हो ?” खुशी र सफल रहन सकारात्मक सोच नै पहिलो सर्त भएको उनी बताउँछन् । “तनाव हुन्छ, जीवन देखेर विरक्त लागेको बेला तपाईँले आजसम्म के कुरा प्राप्त गर्नु भो त्योे  आफूले पाएको कुरालाई पिक गर्न सक्यो भने खुशी हुनसक्छ । अरुसँग आफूलाई तुलना गरेर दुःखी हुनुहुन्न,” उनले भने ।

    त्यस्तै, नियमित मेडिटेसन, योगा गर्ने, स्वस्थ खानपानमा ध्यान पनि ध्यान दिनुपर्ने उनले बताए । 

    संसारमा रङ्गहरूको आ–आफ्नै अस्तित्त्व छ तर, पानी, हावा, अन्तरिक्ष अनि मात्रै होइन पुरै संसार नै रङ्गहीन छ । तपाईँ जे देख्नुहुन्छ त्यो पनि रङ्गहीन हुन्छ । रङ्ग प्रकाशमा मात्रै हुन्छ । कुनै पनि वस्तुको रङ्ग त्यो होइन जे देखिन्छ, बरु त्यो हो जे त्यसले परावर्तित गर्दछ, जे त्याग्दछ, जे फर्काउँछ । रङ्ग कस्तो छ भन्ने थाहा नहुनुले आफ्नो जीवनमा प्रभाव नपारेको गौतम बताउँछन् । “सबैभन्दा ठूलो कुरा प्रभाव छोड्नु हो । कुनै पनि माध्यमबाट ब्रेनसम्म जानकारी प्राप्त गर्नु हो” गौतमले भने । 

     

     


     

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार