काठमाडौँ / पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटक नेपाल भित्रने क्रम बढ्न थालेको छ ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२४ को सेप्टेम्बर महिनाभरीमा ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका हुन् ।
उक्त संख्या सन् २०२३ को सोही अवधिको तुलनामा ५.८२ प्रतिशत बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस्तै, सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना, सन् २०२१ मा नौ हजार ९०७ जना, सन् २०२० मा ५८४ जना र सन् २०१९ मा ९२ हजार ६०४ जना पर्यटक भित्रिएका थिए ।
यस्तै, अघिल्लो महिना अगष्टमा ६७ हजार १५३ पर्यटक भित्रिएका थिए । पर्यटकीय सिजन सुरू भएसँगै पर्यटक आगमन बढ्न थालेको हो ।
सबैभन्दा धेरै भारतीय पर्यटक
सन् २०२४ को सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २२ हजार ९८४ जना नेपाल आएका हुन् ।
त्यस्तै सोही अवधिमा चीनबाट आठ हजार ४२ जना, अमेरिकी पर्यटक १० हजार ८४ जना, बंगलादेशबाट चार हजार १०३ जना, जर्मनीबाट दुई हजार ७०४ र युकेबाट चार हजार ४९३ जना पर्यटक नेपाल आएका छन् ।
त्यसै गरी अगस्टमा भुटानबाट एक हजार १०८, अस्ट्रेलियाबाट पाँच हजार ३८, जापानबाट एक हजार ८८७ जना, श्रीलंकाबाट चार हजार ९१५, साउथ कोरियाबाट दुई हजार ३५१ जना र मलेसियाबाट दुई हजार २८० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
कुन देशबाट कति आए ?
भारत – २२ हजार ९८४
संयुक्त राज्य अमेरिका (अमेरिका) – १० हजार ८४
चीन – ८ हजार ४२
अष्ट्रेलिया – ५ हजार ३८
श्रीलंका – ४ हजार ९१५
यूनाइटेड किंगडम अफ ग्रेट ब्रिटेन एण्ड नर्दन आयरल्याण्ड (यूके) – ४ हजार ४९३
बगलादेश – ४ हजार १०३
जर्मनी – २ हजार ७०४
दक्षिण कोरिया – २ हजार ३५१
मलेसिया – २ हजार २८०
नौ महिनामा भित्रिए आठ लाख पर्यटक
बोर्डका तथ्याङ्क अनुसार सन् २०२४ को नौ महिनामा विभिन्न देशका आठ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका छन् ।
बोर्डको अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेबुअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना र सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका हुन् ।