images
images

एनसेलको दुई दशक : टुजी, थ्रीजीदेखि क्लाउड र डेटा सेन्टरसम्मको सेवा, प्रयोगकर्ता १ करोड ६० लाख

एनसेलको दुई दशक : टुजी, थ्रीजीदेखि क्लाउड र डेटा सेन्टरसम्मको सेवा, प्रयोगकर्ता १ करोड ६० लाख

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • एनसेलको दुई दशक : टुजी, थ्रीजीदेखि क्लाउड र डेटा सेन्टरसम्मको सेवा, प्रयोगकर्ता १ करोड ६० लाख

    काठमाडौँ / हाल एक करोड ६० लाख प्रयोगकर्ता पुगेको एनसेलले दुई दशकअघि मेरो मोबाइलबाट नेपाल यात्रा तय गरेको थियो । सरकारी स्वामित्वको सेवा प्रदायक कम्पनीको एकाधिकार तोडेर नेपालमा उदाएको एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने निजी क्षेत्रको प्रमुख कम्पनी हो । 

    images
    images

    सन् २००५ सेप्टेम्बर १७ बाट एनसेलले (पहिले मेरो मोबाइल) नेपाल आएसँगै अन्य सेवा प्रदायकलाई मूल्य घटाउन र प्रतिस्पर्धी सेवा प्रवाह गर्न बाध्य तुल्याएको थियो । 

    सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान पुर्याएको एनसेलको उपस्थितिले १९ बर्षको अवधिमा सेवा, बजार विस्तार र मूल्यमा उपभोक्तालाई राहत पुगेको छ । 

    एनसेलले सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्डदेखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवासहित नेपाली व्यवसायहरूलाई उनीहरूका सञ्चार आवश्यकताहरू पूरा गर्न नवीनतम सेवाहरू प्रदान गरिरहेको छ । 

    निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेल नेपाली बजारमा आउनुअघिसम्म नेपालमा मोवाइल सेवा निकै झन्झटिलो मात्रै थिएन महँगो पनि थियो । 

    एउटा सिमकार्डको लागि ‘सोर्सफोर्स’, महिनौसम्मको प्रतिक्षामात्रै होइन दिनभरी लाइन बस्नुपर्ने बाध्यता थियो । सिमकार्डको कालोबजारीसमेत फस्टाएको त्यो समयमा आएको एनसेलले नेपालीहरूलाई दूरसञ्चार सेवामा जोड्न प्रमुख भूमिका खेलेको छ । 

    नेपालको प्रमुख सहरमा केन्द्रीत रहेको दूरसञ्चार सेवा आज मुलुकको कुनाकुनामा पुगेको छ । एनसेलको नेपाल प्रवेशले करिब दुई दशकको यात्रामा नेपालको दूरसञ्चार उद्योगको परिदृश्यमा ठूलो परिवर्तन मात्रै आएन गुणस्तरमा पनि उल्लेखनीय सुधार आयो । साथै, फोन कल र डाटा सेवा पनि सस्तो र गाउँ गाउँमा पुग्यो । 

    नेपालमा जीएसएम नेटवर्क र इडीजीइ थ्रिजी प्रविधिको सुरुवात गरेको एनसेलले एनसेल नेपालको इकमर्श, टेलिमेडिसिन, इन्टरनेट/मोवाइल बैंकिङ सेवासँगै सूचना प्रविधि क्षेत्रमा फड्को मार्न प्रमुख भूमिका खेलेको मानिन्छ । 

    एनसेलको उदय

    एनसेल आउनुअघि नेपालको ६ प्रतिशत जनसङ्ख्यामा मात्रै मोबाइल फोनको पहुँच थियो । अहिले भने १ सय १५ प्रतिशत पुगेको छ । नेपालको उच्च पहाडी र हिमाली भेगमासमेत जीएसएम नेटवर्क र फोरजी सेवा विस्तार सेवा विस्तार गरेको एनसेलले सन् २०१० मा नै थ्रीजी सेवा ल्याएको थियो ।

    हाल नेपालको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यो सेवा एनसेलले २०१७ मा सुरु गरेको थियो । नेपालमा १० प्रयोगकर्तामध्ये दुई जनाले मात्रै दैनिक रूपमा डाटा प्रयोग गर्छन् । 

    समय समयमा विभिन्न कारणले विवादमा आए पनि नेपाली बजारमा एनसेलको निरन्तरता कायमै छ । नयाँ नयाँ प्रोडक्टहरू ल्याएर प्रमुख प्रतिस्पर्धीको रूपमा आफूलाई उभ्याएको एनसेल उच्च गुणस्तर, आधुनिक र विश्वसनीय सेवाका कारण लोकप्रिय नै छ । 

    सन् २००८ मा स्वडेनको टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि ‘मेरो मोबाइल’नाम फेरेर एनसेल बनाइएको थियो । सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियका आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो । सन् २०२० मा एनसेल प्रालिबाट पब्लिक लिमिटेड बनेको हो ।  

    सन् २०२३ डिसेम्बर १ बाट बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइट युके लिमिटेड नयाँ लगानीकर्ताको रूपमा भित्रियो । उसले आजियाटाको शतप्रतिशत सेयर खरिद गरेको छ । जुन एनसेलको करिब ८० प्रतिशत सेयर हो । आजियटाले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो ।

    आर्थिक र सामाजिक क्षेत्रमा एनसेलको योगदान 

    एनसेल हरेक बर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा हरेक बर्ष सम्मानित हुँदै आएको छ । कम्पनीले गत आर्थिक बर्ष २०८०/८१ सम्म विभिन्न शीर्षकमा राज्यलाई ३ खर्ब २० अर्ब रुपैयाँ बढी राजस्व तिरेको छ । 

    सन् २०१६ मा आजियाटाले एनसेलको सेयर खरिद गर्दा ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो । व्यवसायिक सामाजिक उत्तरदायित्त्व अन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढी सामाजिक क्षेत्रमा योगदान पुर्याएको एनसेलले प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब २५ हजार जनालाई रोजगारी दिएको एनसेलले जनाएको छ ।

    १९ वर्षको यात्रामा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गरेको छ । 

    एनसेलले स्थानीय तहहरू मिलेर कलंकी-कोटेश्वर चक्रपथमा ग्रिन बेल्ट बनाएको छ । विभिन्न अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा पनि दिइरहेको छ ।२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो ।

    साथै आफ्ना परिवारजन तथा आफ्न्तहरूसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरूलाई १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो ।

    कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । 

    गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । 

    त्यसैगरी, २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।

    एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । टेलिमेडिसिन, व्यक्तिगत स्वास्थ्य कार्यक्रम सेवा सञ्चालन गरेको छ। देशभर ६० हाईटेक डिजिटल आईटी ल्याब स्थापना गरेको थियो। 

    एनसेलले कोभिड–१९ महामारीका बेला सरकार र ग्राहकलाई जसरी सहयोग गरेको थियो, त्यसले धेरैको मन जितेको थियो । त्यसका लागि कम्पनीले ‘वर्ल्ड कम्युनिकेसन अर्वाड-२०२१’ लगायत स्थानीय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत जितेको छ ।

    एनसेलले विभिन्न प्रतिष्ठित पुरस्कार जितिसकेको छ । बिजनेस रिजिलेन्स अवार्ड २०२४, फास्टेस्ट मोबाइल नेटवर्क इन नेपाल २०२२, एसियन टेलिकम अवार्ड २०२२, एक्सिलेन्स इम्प्लोयर अवार्ड २०२२, टीएम फोरम २०२१ क्याटालिस्ट, एसियन टेलिकम अवार्ड २०२२, एसियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१, एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन अवार्ड २०२१, वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१, वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिस एलायन्स ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ लगायत दर्जन बी अवार्डहरू हात पारेको छ ।

    नेसनल एचआर एक्सेलेन्स अवार्ड र डा. ऋषिराम शर्मा डिजास्टर रेस्पोन्स एन्ड रेडिनेस अवार्ड, ग्लोबल मोबाइल अवार्ड्स २०१६ लगायत पुरस्कार पनि एनसेलले हात पारेको छ । 

    आम्दानीमा गिरावट

    पछिल्लो समय नेपालमा दूरसञ्चार कम्पनीको आम्दानीमा गिरावट आएको छ । नेपालमा हाल एनसेल र नेपाल टेलिकम गरेर दुई मोबाइल सेवा प्रदायक कम्पनी छन् । दुबैको बार्षिक आम्दानी भने घटिरहेको छ । 

    बङ्गलादेश, श्रीलङ्का जस्ता देशमा मोबाइल सेवा प्रदायकको आम्दानी बढ्दो क्रममा भए पनि नेपालमा भने आम्दानी र नाफा निरन्तर घटिरहेको छ । 

    आम्दानी घट्दो क्रममा रहे पनि सेवा विस्तार र अन्य सुविधा लागि गर्नुपर्ने लगानी भने महँगो भएको छ । एनसेलका अनुसार दूरसञ्चार सेवा प्रदायकले पछिल्लो समय ३ गुणासम्म बढी लगानी गर्नुपर्ने अवस्था छ । एनसेलले केही समयअघि गराएको रेटिङ रिर्पोट अनुसार ५ बर्षमा कम्पनीको आम्दानी ३७.४० प्रतिशतले घटेको छ । 

    सन् २०१८ मा ५९ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको एनसेलले २०२३ मा २२ अर्ब ३७ करोड रुपैयाँले घटेर ३७ अर्ब ४४ करोड रुपैयाँमा मात्रै सीमित भएको हो ।

    त्यसो त सन् २०१८ देखि नै एनसेलको आम्दानी निरन्तर ओरालो लागि रहेको देखिन्छ । सन् २०१९ मा ५५ अर्ब ३९ करोड, २०२० मा ४६ अर्ब ८७ करोड, २०२१ मा ४० अर्ब ४२ करोड र २०२२ ३९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    विभिन्न प्रविधिको विकास गर्दा मोबाइल डेटा खपत बढ्न नसकेपछि टेलिकम कम्पनीहरूको आम्दानी बृद्धि हुन नसकेको देखिन्छ । 

    कानुनको कसीमा एनसेल

    एनसेलले नियामक निकायको असहयोगले पूर्वाधार विस्तार गर्न र व्यवसायिक योजना अनुसार काम गर्न नपाएको गुनासो गर्दै आएको छ । प्रविधिले ठुलो छलाङ मारिसक्दा पनि सरकारले दूरसञ्चार ऐन २०५३ लाई समायानुसार परिवर्तन गर्न सकेको छैन । 

    जसको मारमा दूरसञ्चार कम्पनीहरू पिल्सिएका छन् । राज्यलाई राजस्व बुझाउन नसक्दा युनाइटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम, नेपाल स्याटलाइट टेलिकम र सीजी टेलिकम जस्ता कम्पनी बन्द भइसकेका छन् ।

    यो ऐन अनुसार पहिलो १० वर्षका लागि दूरसञ्चार कम्पनीले लाइसेन्स पाउँछन् । त्यसपछि प्रत्येक ५ वर्षमा नवीकरण गर्नुपर्छ । हरेक नवीकरणमा २० अर्ब रुपैयाँ राज्यलाई भुक्तानी गर्नुपर्छ ।

    एनसेलले भर्खरै ५ वर्षका लागि लाइसेन्स नवीकरण गरेको छ । जसले दूरसञ्चार क्षेत्र थप महँगो भएको कम्पनीहरूको भनाइ छ । कुल आम्दानीको ५० प्रतिशत सरकारलाई कर तिर्न खर्च हुने कम्पनीहरूको भनाइ छ । 

    एनसेलको लाइसेन्स अवधि नाघ्नुअघि अन्तिम पाँच वर्षका लागि २० अर्ब शुल्क बुझाएर नवीकरण गर्नुपर्ने विषयमा सरकारले १० प्रतिशत ब्याजसहितको चार किस्ता सुविधा उपलब्ध गराएको छ । 

    सोही अनुसार लाइसेन्स नवीकरण भएको छ र प्राधिकरणले नवीकरण गर्दा पाँच वर्षपछि सरकारी स्वामित्वमा आउने शर्त राखेको छ । 

    २०औँ प्रवेशमा पुगेको एनसेलले स्पेक्ट्रलाइट युके लिमिटेड अन्तर्गत रहेर नेपालमा इन्नोभेसन, इन्भेस्टमेन्टसहितको उत्कृष्ट सेवालाई निरन्तरता दिने बताउँदै आएको छ । 

    एनसेल फाउन्डेसन

    नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणासमेत गरेको छ । 

    १९औँ वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । 

    थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ ।

    फाउन्डेसनको उद्देश्यहरूमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको एनसेलले जनाएको छ ।

    ‘नाइन्टिन फर नाइन्टिन’ परियोजना

    आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि सधैँसँगै’ र एनसेल फाउन्डेसनको शुभारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरूका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

    एनसेलले फाउन्डेसनको आरम्भसँगै १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । 

    जसमा सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन्  । 

    गत वर्ष ‘एटीन फर एटीन’अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार