काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे प्रारम्भिक जानकारी दिएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
विभागले निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।
शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ।
तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ ।
थामे खोलाको बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दुधकोशी र बुवाबजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो ।
तर, सो समय पश्चात बिस्तारै बाढीको सतह घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठुलो जोखिम नहुने देखिए पनि दुधकोशीको नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले घटनाको सम्बन्धमा थप अध्ययन गर्ने भएको छ ।