काठमाडौँ / नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्ने भएको छ ।
हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।
यसैगरी, काठमाडौँ-कुवेत-काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ ।
हाम्रो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छौँ ।
सुरुवातमा, हामी काठमाडौँ-कुवेत-काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछौँ, र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएका छौँ ।
काठमाडौँ-कुवेत उडान (H9 571), काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ ।
त्यसैगरी कुवेत-काठमाडौँ उडान (H9 572), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्नेछ ।
“हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्द्धन गर्न प्रतिबद्ध छ र काठमाडौँ–कुवेत मार्गमा उडान पुनःस्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण हो,” एअरलाइन्स्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर छौँ ।”