काठमाडौँ / गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच बुधबार भेटवार्ता भएको छ ।
गृहसचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा द्विपक्षीय छलफलसमेत गरेको छ।
गृह मन्त्रालयमा भएको भेटमा गृहसचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमासुरक्षालगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिए ।
सीमासुरक्षामा समन्वय एवं सहकार्यमा जोड दिँदै गृहसचिव अर्यालले पूर्वाधार विकासमा चीनको सहयोगको उच्च प्रशंसा गरे ।
सचिव अर्यालले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल सरकार र चीनबीच भएको विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यमा सहयोगसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै थप सहयोगको अपेक्षा रहेको बताए ।
सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङले सीमामा अवैध गतिविधि नियन्त्रण र व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, नेपालमा चिनियाँ लगानीको संरक्षण र विशेषगरी सीमावर्ती क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणमा कानुन कार्यान्वयनमा जोड दिए।
चिनियाँ प्रतिनिधिमण्डलले गृहमन्त्री लामिछानेसँगसमेत भेट गरेको थियो । भेटमा सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने र द्विपक्षीय सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो ।
विपद् व्यवस्थापन सम्झौता कार्यान्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।