काठमाडौँ / गत माघ १८ गतेदेखि सञ्चालन भइरहेको ‘प्रथम चाबहिल जुत्ता चप्पल मेला’मा उपभोक्ताहरूको आकर्षण बढेको छ । फागुन १८ गते (एक महिना)सम्म चल्ने उक्त मेलामा विशेष छुट र २ सयभन्दा बढी मोडलहरू पाइने भएकोले उपभोक्ताको आकर्षण बढेको हो ।
आयोजकका अनुसार एक सयभन्दा बढी स्टलहरूमा नेपाली ब्रान्डका जुत्ता चप्पल राखिएको छ । मेलामा उपलब्ध जुत्ता चप्पलहरू कारखानाकै मूल्यमा १० देखि ५० प्रतिशत छुटमा उपलब्ध गराउने मेला संयोजक दिवाकर गिरीले बताए ।
मेलामा १४ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजारभन्दा धेरै डिजाइनका जुत्ता चप्पल उपलब्ध रहेको संयोजक गिरीले जानकारी दिए ।
नेपाली ब्राण्डका जुत्ताको प्रचाररप्रसार गरी आम उपभोक्तामाझ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरेको उनी बताउँछन् ।
अहिले विवाहको सिजन चलिरहेको हुनाले विवाह र जाडो मौसमलाई समेत लक्षित गरी उत्पादन गरिएको जुत्ता चप्पल उक्त मेलामा देख्न सकिन्छ ।
महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिकलगायत सबै उमेर समूहका उपभोक्ताले मेलाबाट आकर्षक डिजाइनका जुत्ता चप्पल विशेष छुटमा खरिद गर्न सक्नेछन् ।
नेपाली जुत्ता चप्पललाई थप बजारीकरण गर्न आयोजित उक्त मेला चाबाहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखु, कपनलगायतका क्षेत्रका उपभोक्ता लक्षित रहेको संयोजक गिरीको भनाइ छ ।
मेला सञ्चालनमा भएको अवधिमा करिब पाँच करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पलको रहेको छ । नेपाली उद्योगीहरूको बार्षिक १६ करोड जोर उत्पादन क्षमता रहेको छ भने बजार माग १० करोड जोरको रहेको छ । त्यस्तै, बार्षिक ६ करोड जोर स्वदेशी जुत्ता चप्पल बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् ।