images
images

चैते धानखेती गर्ने किसानलाई नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराउने

चैते धानखेती गर्ने किसानलाई नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराउने

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • चैते धानखेती गर्ने किसानलाई नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराउने
    images
    images

    कञ्चनपुर / चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । 

    नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो । 

    किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए । 

    “धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ”, उनले भने, “चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ ।” 

    किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उनको भनाइ छ ।

    पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात् बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उनले बताए । 
     
    उनका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ । 

    थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताए । 

    गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनले बताए । 

    बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए । 
     
    “चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन”, धामीले भने । 

    फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन् । रोपेको चार महिनामा धान पाक्ने गर्दछ । असारमा चैते धान काटेर किसानले बर्खे धानखेती गर्दै आएका छन् । 

    चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरुपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार कूल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार