images
images

आर्थिक सङ्कटका बीच भूटानका पूर्वप्रधानमन्त्री निर्वाचनमा विजयी

आर्थिक सङ्कटका बीच भूटानका पूर्वप्रधानमन्त्री निर्वाचनमा विजयी

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • आर्थिक सङ्कटका बीच भूटानका पूर्वप्रधानमन्त्री निर्वाचनमा विजयी
    थिम्पू / मुलुकको विकासभन्दा ‘सकल राष्ट्रिय खुशी’लाई प्राथमिकता दिने लामो समयदेखिएको नीतिलाई चुनौती दिने आर्थिक खतराहरू हावी भएको भूटानमा मङ्गलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टीले विजय हासिल गरेको सञ्चारमाध्यमले बताएका छन् । 
     
    मतदान गर्ने धेरै मानिसको मनमा महत्त्वपूर्ण कुरा भनेको बौद्ध–बहुल भूटानको युवा पुस्ताको सङ्घर्ष, दीर्घकालीन युवा बेरोजगारी र प्रतिभा पलायन हो । निर्वाचनमा दुवै दल ‘जनताको खुशी र कल्याण’ द्वारा आफ्नो सफलता मापन गर्ने सरकारको संवैधानिकरूपमा स्थापित दर्शनका लागि प्रतिबद्ध छन् । 
     
    दि भूटानी अखबारका अनुसार तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी)ले संसदमा करिब दुई तिहाइ सिट जितेको छ । जितसँगै ५८ वर्षीय संरक्षण अधिवक्ता तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । 
     
    अखबारले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा तोब्गेको पिडिपीले सन् २०२४ को संसदीय निर्वाचनमा ३० सिट जितेको र भूटान टेन्ड्रेल पार्टी (बिटिपी)ले बाँकी १७ सिटमा कब्जा जमाएको बताएको छ । 
     
    निर्वाचनअघि जारी गरिएको आधिकारिक समय तालिकाअनुसार निर्वाचन आयोगले नतिजाबारे तत्काल कुनै पुष्टि गरेको छैन । बुधबार अन्तिम नतिजा जारी हुने अपेक्षा गरिएको छ । 
     
    सामूहिक पलायन
     
    स्विट्जरल्यान्डजस्तै जमिनले घेरिएको करिब आठ लाख जनसङ्ख्या भएको पहाडी मुलुक भूटानमा केही मतदाताले मतदान गर्न धेरै दिनको यात्रा गर्नुपरेको छ । राजधानी थिम्पुमा मतदान गरेपछि २२ वर्षीय छात्र उग्येन छिरिङले भने, “भूटानमा रोजगारीका अवसरहरू कम छन् र युवाहरू हरियाली स्थानका लागि विदेश जान नपरोस् भनेर नयाँ सरकारले यसलाई समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।”
     
    विश्व बैंकका अनुसार भूटानको बेरोजगारी दर २९ प्रतिशत छ । पछिल्लो पाँच वर्षमा आर्थिक विकास औसत एक दशमलव सात प्रतिशतको दर बढेको छ । निर्वाचनका क्रममा तोब्गेले भूटानको अभूतपूर्व आर्थिक चुनौती र ठूलो सङ्ख्यामा पलायनबारेमा चेतावनी दिए ।
     
    प्रत्येक आठमध्ये एक जनाले खानाका लागि आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेको उनको पार्टीको घोषणापत्रमा सरकारी आँकडालाई उद्धृत गरिएको छ । 
     
    उनका निर्वाचन प्रतिद्वन्द्वी बिटिपीका नेता तथा करियर निजामती कर्मचारी पेमा चेवाङले पनि मुलुकले ‘राष्ट्रको क्रिम’ गुमाउँदै गरेको चेतावनी दिएका छन् । 
     
    विदेशमा राम्रो आर्थिक तथा शैक्षिक अवसरको खोजी गरिरहेका युवाहरूले पछिल्लो निर्वाचनदेखि रेकर्ड सङ्ख्यामा मुलुक छाडेका छन् । उनीहरूको शीर्ष गन्तव्यमा अस्ट्रेलिया परेको छ । 
     
    एक स्थानीय समाचार रिपोर्टअनुसार गत जुलाईअघि १२ महिनामा करिब १५ हजार भूटानीलाई भिसा जारी गरिएको थियो । यो पछिल्लो छ वर्षभन्दा धेरै र मुलुकको जनसङ्ख्याको करिब दुई प्रतिशत हो । 
     
    “मैले ग्रामीण क्षेत्रमा विकासको अपेक्षा गरेको छु”, २५ वर्षीया वास्तुविद् सन्ध्या प्रधानले मतदानपछि भनिन् । उनले अस्ट्रेलियामा रहेका युवाहरूलाई फर्केर भूटानमा काम गर्न प्रोत्साहन गर्न शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको बताइन् ।
     
    किसान गाउँ खसद्रपचुकी ६५ वर्षीया गृहिणी योङ चेन डेमाले पिउने पानीको अभाव र सडकको खराब अवस्था आफूले सामना गर्न चाहेको ग्रामीण क्षेत्रका चुनौती रहेको बताइन् ।
     
    वर्तमान राजाको शासनकालको सुरुआत लगत्तै सन् २००८ मा स्थापना गरिएको संसदमा तोब्गे विपक्षी नेता थिए। पूर्वनिजामती कर्मचारी उनले सन् २०१३ देखि सन् २०१८ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । उनले पिटसबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा डिग्री र हार्वर्डबाट सार्वजनिक प्रशासनमा मास्टर डिग्री हासिल गरेका छन् । 
     
    नोभेम्बरमा भएको प्राथमिक प्रतियोगिताले अघिल्लो सरकारका सांसद र उनीहरूका पूर्वविपक्षी दुवैलाई हराउँदै दुई दललाई प्रतिस्पर्धामा सीमित गरेको थियो । 
     
    अघिल्लो सरकारले अर्थतन्त्रमा विविधता ल्याउनका लागि परियोजनाहरूलाई अगाडि बढाएको थियो । यसमा भारतीय सीमामा विशेष आर्थिक क्षेत्र र क्रिप्टोकरेन्सी–माइनिङ योजनाका लागि पैसा जुटाउन सिङ्गापुरस्थित कम्पनीसँग योजना समावेश थियो । 
     
    पर्यटन भूटानको अर्थतन्त्रको एउटा सानो भाग हो तर विदेशी मुद्राको मुख्य आर्जन गर्ने यो क्षेत्र अहिलेसम्म कोभिड महामारीका अवरोधबाट माथि आउन सकेको छैन । तोब्गेले ऊर्जाको प्रमुख स्रोत जलविद्युत्मा व्यापक लगानी गर्ने वाचा गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार