काठमाडौँ / मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
आयोजना क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८ सय कित्ता बिक्री गर्नेछ । जसमध्ये ७ लाख ४८ हजार ४ सय कित्ता स्थानीय बासिन्दा र ७४ हजार ८४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
अब १४ हजार ९६८ कित्ता सेयरमा कर्मचारी, ३७ हजार ४२० कित्ता सेयरमा सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।