काठमाडौँ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पशुपतिनाथको जग्गामा अवैध रूपमा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पूर्वसरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वस्थानीय विकास अधिकारी (एलडिओ)द्वय प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ तथा पशुपति विकास कोषका तत्कालीन निर्देशक राजुकुमार रेग्मी रहेका छन् ।
सिआइबीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार पशुपतिको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिई भ्रष्टाचार गरेको आरोपमा जोशी, श्रेष्ठ र रेग्मीसहित नौ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।
खड्काका अनुसार सर्वोच्च अदालतबाट भएको सो फैसलामा महेन्द्रलाल श्रेष्ठलाई चार वर्ष, प्रेमराज जोशी र राजुकुमार रेग्मीलाई छ–छ महिना कैद सजाय तोकेको थियो । सिआइबीले पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्वयन इकाइमा बुझाइसकेको जनाएको छ ।
नियमविपरीत बालुवाखानी सञ्चालनको स्वीकृति दिएर पशुपतिनाथको आम्दानीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम संवत् २०७१ माघमा दुई जना ठेकेदारसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको थियो ।