काठमाडौँ / निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । लामो समयदेखि सरकारसमक्ष विभिन्न माग राख्दै आएको महासङ्घले सुनुवाई नभएको भन्दै माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको हो ।
निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनको भनाइ छ ।
महासङ्घका महासचिव रोशन दाहालले सरकारले आफूहरूको मागको सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनमा जाने निर्णय गरेको
बताए । माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको उनले जानकारी दिए ।
साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम छ ।
यसपछि पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासङ्घको योजना छ ।