images
images

ग्लोबल आइएमई बैंक मर्जर र विजनेस विस्तारसँगै अब्बल, चार हजार कर्मचारीहरूको मेहनतको प्रतिफल

ग्लोबल आइएमई बैंक मर्जर र विजनेस विस्तारसँगै अब्बल, चार हजार कर्मचारीहरूको मेहनतको प्रतिफल

शुक्रवार, पुस १९ २०८१
शुक्रवार, पुस १९ २०८१
  • ग्लोबल आइएमई बैंक मर्जर र विजनेस विस्तारसँगै अब्बल, चार हजार कर्मचारीहरूको मेहनतको प्रतिफल
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड १९ औँ वर्षमा पाइला टेक्दै गर्दा ठुलो नेटवर्क सञ्जाल, ठुलो ब्यालेन्ससाइडसहित अब्बल बैंक बन्ने बाटोमा छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंक १८ बर्षे यात्रामै विभिन्न २१ ओटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा एक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै ठुलो वाणिज्य बैंक बन्न सफल भएको हो । 

    ग्राहकमैत्री सेवाहरू, साना तथा मझौला व्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम नागरिकको विश्वास जितेको ग्लोबल आइएमई बैंकले ५० लाखभन्दा बढी ग्राहकहरूलाई रिझाइरहेको छ ।

    हाल ३६ अर्ब १२ करोड रुपैयाँ बढी चुक्ता पुँजी रहेको बैंकको निक्षेप असोज मसान्तसम्म ५ खर्ब १२ अर्ब रुपैयाँ नाघेको छ । बैंकले गत आर्थिक बर्ष (आव)को लाभांशबापत बोसन सेयर वितरणपछि भने चुक्ता पुँजी ३८ अर्ब नाघ्नेछ । 

    नेपालमा ७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा समेत परिचित ग्लोबल आइएमईले तथ्याङ्कअनुसार पछिल्लो १२ बर्षमा सेयरधनीहरूको हात खाली गरेको छैन । 

    यो छोटो समयमा सबै प्यारामिटरमा अब्बल बन्न सक्नुको कारण औँल्याउँदै नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षसमेत रहेका बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा आबद्ध चार हजार बढी कर्मचारीहरूको मुक्त कण्ठले प्रशंसा गरे । कुनै बैंकको टोटल डिपोजिट बराबरको ग्लोबल आईएमइको सेभिङ डिपोजिट भएको उनले गौरवान्वित हुँदै सुनाए । 

    “यो धेरै गौरवको कुरा हो,” उनले भने, “एउटा सानो कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८÷२० वर्षको बिचमा नेपालको सबैभन्दा ठुलो बैंक, सबैभन्दा ठुलो नेटवर्क, सबैभन्दा ठुलो ‘ब्यालेन्ससाइड’ भएको सानो इनिसिएसन लिएर इमान्दार हिसाबले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्ने कुरा आज प्रमाणित भएको छ ।” 

    बैंकको १८औँ बार्षिकोत्सवको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकमा आबद्ध कर्मचारी, बोर्ड मेम्बर, व्यस्थापन समितिको खुलेरै प्रशंसा गरेका हुन् । 

    अध्यक्ष ढकालले भने, “सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरूलाई म के भन्न चाहन्छु भने यो एउटा सानो कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८/२० वर्षको बिचमा नेपालको सबैभन्दा ठुलो बैंक, सबैभन्दा ठुलो नेटवर्क, सबैभन्दा ठुलो ‘ब्यालेन्ससाइड’ भएको सानो इनिसिएसन लिएर इमान्दार हिसाबले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्ने कुरा आज प्रमाणित भएको छ ।”

    व्यावसायिक रूपमा सञ्चालनको १८ हिउँद काटेको ग्लोबल आइएमई बैंकले बार्षिकोत्सवको अवसरमा छुट योजनाहरूका साथै सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूसमेत सम्पन्न गरेको छ । 

    बैंकको अबको रणनीति 

    बार्षिकोत्सवको अवसरमा अध्यक्ष ढकालले धेरै चिजहरू गर्न सक्ने ठाउँसमेत बताएका छन् । ‘स्ट्रेन्थ’लाई अझै आफूहरूले ‘क्यापिटलाइज’ गर्न सक्ने भन्दै उनले भने, “मेहनत अझै हामीले बढायौँ भने साइजको हिसाबले त सबैभन्दा ठुलो भएका छौँ, हामी अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठुलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्ने कुरा प्रमाणित गर्नको लागि, नतिजा दिन धेरै समय लाग्छ भन्ने मलाई लाग्दैन । हरेक इण्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्ने गरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिन्छ ।”

    साथै, उनले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

    उनले भने, “अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम् शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो ।” 

    बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उनको दाबी छ । आर्थिक वर्ष (आव) २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा पूँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि गरेको ग्लाबल आइएमईले आगामी बर्ष पनि दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरूपका रणनीति कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

    हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यलाई आत्मसात् गर्ने योजनाअनुसार बैंकले विभिन्न योजनाहरू सार्वजनिक गरिरहेको छ । 

    त्यस्तै, दिगो, न्यून कार्वन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुनेगरी व्यवसाय सञ्चालन र कर्जा प्रवाहलगायतका गतिविधिलाई बढावा दिने बैंकले जनाएको छ । 

    अध्यक्ष ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए । 

    बैंकले थप ‘भ्यालु एडेड सर्भिसेस’लाई बजारमा पुर्याउने कार्ययोजना बनाएको बताइएको छ । बैंकले विगत वर्षमा अन्तर्राष्ट्रिय वित्त निकाय तथा वित्तीय संस्थाबाट बाह्य कर्जा लिई लगानीको स्रोतको व्यवस्थापन गर्दै आएको उल्लेख गरेको छ । 

    जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुशरण गरी कार्यान्वयन गर्ने÷गराउने कार्यलाई जोड दिने बैंकको प्रतिबद्धता छ ।

    चालू आवमा समेत ती निकायबाट आवश्यकता र औचित्यताको आधारमा स्रोतको व्यवस्थापन तथा परिचालन गर्ने बैंकको योजना छ । त्यस्तै, सूचना प्रविधिको प्रयोग बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडि बढ्ने नीति अध्यक्ष ढकाल बताउँछन् । 

    यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । 

    सिइओ रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको उनले बताए ।

    बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई महत्त्वका साथ अवलम्बन गर्दै आएको र सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बंैकका विभिन्न किसिमका जोखिमको पहिचान तथा न्यूनीकरणका विधि अवलम्बन गरिने बैंकको रणनीति छ । 

    रेमिट्यान्स सेवा 
    बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुसीको कुरा भएको बताए । 

    “हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसाबले करिब करिब ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्याएका छौँ,” उनले भने, “त्यो पनि आफैँमा धेरै ठुलो एचिभमेण्ट हो । अझै हाम्रो जुन हिसाबले डिपोजिट मोभिलाइजेशन भएको छ, डिपोजिट सोलिसिट गरेको छ, जुन हाम्रो क्यापसिटी छ, जुन हाम्रो रेफरेन्सर, जुन हाम्रो ब्राण्डिङ छ ।”

    अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु-याउँदै आएको छ ।

    यस्ता छन् वित्तीय सूचक 

    पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक सङ्ख्यामा पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले आव २०८०/८१ मा ६ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । १६ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो बैंकले अर्ब ८६ करोड सञ्चालन मुनाफा गरेको छ । यसैगरी गत आवको तुलनामा १६ करोड रुपैयाँ बढी कर तिरेको छ । 

    चालु आव २०८१/८२ को पहिलो त्रैमासमै ग्लोबल आइएमईले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो । 

    वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ६१ लाख छ भने असोज मसान्तसम्म बैंकले ५ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेर ३ खर्ब ९७ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९० लाख रुपैयाँ छ । असोज मसान्तसम्म बैंकको इपिएस १६ रुपैयाँ ७४ पैसा र नेटवर्थ प्रतिसेयर १७६ रुपैयाँ २० पैसा रहेको छ ।

    गत आवमा २ अर्ब ५५ करोड रुपैयाँ कर तिरेको यो बैंक आव २०७८/७९ मा ३ अर्ब २० करोड कर दाखिला गर्दै सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मानित भएको थियो । 

    १२ बर्षमा एक बर्ष पनि हात खाली नहुने भाग्यमानी लगानीकर्ता 

    उपलब्ध तथ्याङ्कअनुसार ग्लोबल आइएमई बैंकले पछिल्लो १२ बर्षमा आफ्ना लगानीकर्ताहरूलाई निराश बनाएको छैन । २०७२ सालको महाभूकम्प, भारतले गरेको नाकाबन्दी, कोभिड महामारी होस् या आर्थिक मन्दी । देशको अर्थतन्त्रमा पछिल्लो १२ बर्षमा बारम्बार समस्या देखियो । तर. पनि ग्लोबल आइएमई बैंकका लगानीकर्ताहरू निराश हुनु परेन । १२ बर्षको अवधिमा बैंकले सबैभन्दा कम लाभांश भने यसैपाली दिएको छ ।

    आव २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर गत मङ्सिर २७ गते सम्पन्न १८औँ बार्षिक साधारण सभाले पारित गरिसकेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।  

    ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी लाभांश भने आव २०७५/७६ मा वितरण गरेको थियो । उक्त आर्थिक बर्षमा बैंकले १२.७५ प्रतिशत नगद लाभांश (करसहित) र सोही बराबर बोनस सेयर वितरण गरेको थियो । 

    त्यस्तै, आव २०७९/८० मा ८ प्रतिशत नगद लाभांश र ५.५ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत, आव २०७८/७९ मा नगद १०.६० प्रतिशत र बोनस ३ प्रतिशत गरी कुल १३.६० प्रतिशत लाभाश वितरण गरेको थियो । 

    यसैगरी, आव २०७७/७८ मा ३.५० प्रतिशत नगद र १० प्रतिशत बोनस गरी कुल १३.५० प्रतिशत, आव २०७६÷७७ मा २ प्रतिशत नगद र १४ प्रतिशत बोनस गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

    ग्लोबल आइएमईले आव २०७४/७५ र आव २०७२/७३ मा बोनस सेयर १६ प्रतिशत वितरण गरेको थियो भने आव २०७३÷७४ मा नगद र बोनस १०÷१० गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । 

    यसैगरी, आव २०७०/७१ मा नगद ४ प्रतिशत र बोनस २१ गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको ग्लोबल आइएमईले आव २०६९÷७० मा बोनस सेयर १५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

    राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित बैंक

    ग्लोबल आइएमई बैंकको देशभर ३५४ शाखा कार्यालय रहेको ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र रहेको छ । 

    बैंकले आफ्ना ग्राहकहरूलाई प्रविधिमा आधारित नविनतम् सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ । बैंकिङ्ग क्षेत्रका आम ग्राहकहरूमाझ लोकप्रिय यो बैंक विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरूबाट पनि सम्मानित छ । 

    ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ । साथै, बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ ।  

    ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरिका बैंक तथा वित्तीय संस्थाको विभिन्न सूचाङ्ककहरूको सुक्ष्म मूल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरू छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्ड विश्वस्तरमा प्रतिठित अवार्डको रूपमा परिचित छ । ग्लोबल आइएमईले उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ । 

    सामाजिक उत्तरदायित्व बहनमा सक्रिय 

    ग्लोबल आइएमई बैंकले सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदानलगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयनमा ल्याएर योगदान पुर्याउँदै आएको छ । आव २०८०/८१ मा मात्रै यो बैंकले कुल ७ करोड १९ लाख रुपैयाँको योगदान गरेको छ । 

    त्यस्तै, बैंकले फरक क्षमताका बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा प्रोत्साहित गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषबाट काठमाडौंँको छाउनीमा स्थापना भएको दिवा विद्यालयलाई, सामाजिक अन्याय र विभेदविरुद्धको लोकप्रिय टेलिभिजन कार्यक्रम ऐना सिजन २ लाई, महिला, जनजाति, अल्पसङ्ख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्वपिडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक बिषय, सामाजिक घटना, बाल बिवाह, शिक्षामा पहुँच विस्तार, मिटरब्याज विरुद्धको अभियानको लोकप्रिय टेलिभिजन सो दलानलाई, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमको लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको छ ।

    त्यसैगरी निःशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतको शीर्षकहरूमा समे सहयोग पुर्याएको छ । 
    २०८० कात्तिक १७ गते जाजरकोट÷रुकुमपश्चिममा गएको विनासकारी भूकम्पपीडितका लागि सहयोग गरेको बैंकले चालु आर्थिक वर्षमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ४ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार