images
images

लहानमा अटो रिक्साको सङ्ख्या वृद्धि हुन, ट्राफिक व्यवस्थापनमा समस्या

लहानमा अटो रिक्साको सङ्ख्या वृद्धि हुन, ट्राफिक व्यवस्थापनमा समस्या

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • लहानमा अटो रिक्साको सङ्ख्या वृद्धि हुन, ट्राफिक व्यवस्थापनमा समस्या
    images
    images

    व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन  थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जथाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

    भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउँछन् । 

    उनले भने,“अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमी भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा र मुख्यतः पूर्व—पश्चिम राजमार्गमै केन्द्रित भइदिँदा समस्या भयो ।” 

    प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नको लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए ।

    अव्यवस्थित रूपमा सञ्चालन गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ । 

    “सिरहाको सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायतका बजार क्षेत्रमा वास्तविक क्षमता भन्दा बढी सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । दुर्घटनाको स्थिति हेर्दा कहालीलाग्दो छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भने, “अटो रिक्साको नियमन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला नजुट्ने हो भने स्थिति भयावह हुनसक्छ ।” 

    पछिल्लो समय सिरहामा अटो रिक्सा ठुलो सङ्ख्यामा भित्रिरहेका छन् । ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतीका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । 

    जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रूपमा जथाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतीको भनाइ छ । 

    चाहिनेभन्दा बढी भएपछि रिक्साले बजार नै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोती बताउँछन् । 

    “सरकारी नीति र प्रस्ट निर्देशिका बन्न नसक्दा यो सवारीसाधन सबैको टाउको दुखाइ बनेको छ ।” उनले भने, “बजारमा रिक्साले आतङ्क सिर्जना गरेको छ । नियमन गर्नको लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ ।”

    उनले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

    बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारि लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार