काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा थप दुई ओटा शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका दुई ओटा शाखा शुभारम्भ गरेको हो ।
बैंकले पुस बिहीबार फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औँ शाखा र शुक्रबार फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको जनाएको छ ।
यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा सङ्ख्या २० पुगेको छ ।
यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरूमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।
देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ् सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।