काठमाडौँ / पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधबार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै, उनले कृषि उद्योग, पर्यटनलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने बताए ।
“यही गतिमा हिँडेर राजस्व धेरै आउने भन्ने हुँदैन । एकातिर प्राइभेट सेक्टर र राज्य मिलेर अर्थतन्त्रको सुधार गर्न सकिन्छ,” पुनले भने – “लगानी किन भइरहेको छैन भन्दा आन्तरिक र बाह्य लगानी हुन सकेको छैन” उनले भने ।
धितोपत्र बोर्ड र विद्युत् प्राधिकरणलगायत अर्थतन्त्रलाई चलायमान बनाउने निकायमा अहिलेको सरकारसँग टिउनिङ मिल्ने व्यक्ति रहेको उनले बताए ।
अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको देखिएको बताएका छन् ।
“अहिले पनि समस्या खर्च गर्नेमै छ । खर्च गर्ने जहिल्यैको समस्या हो । राजनीतिक परिवर्तनका कारण सिद्धान्त र प्राथमिकता एक जनाले प्रस्तुत गर्नुभो तर बजेट कार्यान्वयन गर्नेमा अर्को मन्त्रीले पर्नुभो,” पुनले भने, “चर्चा गरेभन्दा कम बजेट आएको छ । ठुला आयोजनाको टेन्डर भएको छैन ।”