काठमाडौँ / सत्तारूढ दल नेकपा एमालेको र्याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको छ । उपत्यकाको ट्राफिक अस्तव्यस्त बनाउँदै विभिन्न स्थानबाट निकालिएको र्याली सभामा परिणत भएको हो ।
सत्तारुढ प्रमुख दलले काठमाडौँको केन्द्रमा शक्ति प्रदर्शनको नाममा र्याली निकालेपछि उपत्यकाकै ट्राफिक अस्तव्यस्त बनेको छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा जागरणसभा सुरु हुनुअघि एमालेले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालेको थियो।
सभालाई केहीबेरपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सत्तारुढ दलको शक्ति प्रदर्शनले काठमाडौँ उपत्यका स्थित दरबारमार्ग, माइतीघर र बालकुमारीमा आज कार्यक्रम हुने भएकोले उक्त स्थानहरू हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।
उल्लेखित सडकखण्ड हुँदै यात्रा गर्ने सम्पूर्ण सवारी चालकलाई अत्यावश्यक बाहेक अन्य वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौँको दरबारमार्गमा हुने कार्यक्रमका कारण सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी चलाइएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र नागपोखरीबाटै डाइभर्सन गरिएको हो ।
सवारी डाइभर्सन कारण पद्मोदयमोड, पुतलिसडक, कमलादीमोड, कृष्णपाउरोटी, जयनेपाल, जमल, महेन्द्रशालिक, केशरमहल, लैनचौर हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।