काठमाडौँ / सिरुवा कन्ट्रक्सनका एमडी दिनेश पौडेलले आफूलाई अध्यक्ष हरिप्रसाद सुवेदीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष सुवेदीसँग कुनै लेनदेन बाँकी नरहेको बताए । बरू अध्यक्ष सुवेदीले आफ्नो चेक चोरेर बैंकिङ कसुर मुद्दामा दुःख दिएको उनले सुनाए ।
सिरूवा कन्ट्रक्सनका अध्यक्ष रहेका सुवेदीले एमडी पौडेल र गणेश लामाले आफू्नो ८ करोड १४ लाख रूपैयाँ हिनामिना गरिदिएको र अहिले ज्यान मार्ने धम्की दिइरहेको आरोप लगाएका थिए । अध्यक्ष सुवेदीले लगाएको आरोपको खण्डन गर्दै उनले उनलाई तिर्नुपर्ने कुनै रकम बाँकी नरहेको र बरू उनले चेक चोरेर दुःख दिएको बताए ।
सिरूवा कन्ट्रक्सनका एमडी पौडेलले अध्यक्ष सुवेदीलाई आफूले सुरूमा पोखरामा ठेक्काको काम गर्दा चिनेको बताए । सो क्रममा उनको पैसा मिटर व्याजमा चलाएको र सोही क्रममा उनी व्यवसायिक साझेदार बनेको बताए ।
आफू २०७७ सालमा गाडी दुर्घटनामा परेको मौका छोपी अध्यक्ष सुवेदीले चेक चोरी गरेर विश्वासघात गरेको उनको आरोप छ । अध्यक्ष सुवेदीले आफू र गणेश लामामाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको र बरू उनीबाट आफू पीडित बनेको एमडी पौडेलले बताए ।
“२०७७ साल जेठ २५ गते मेरो गाडी दुर्घटना भयो । हामी व्यवसायीहरूले कतिपय खाली चेकहरू सिग्नेचर गरेर छाडेका हुन्छौं । हाम्रो व्यवसायको एकदमै गलत पाटो भनेको यो छ । मेरो गाडी दुर्घटना भएपछि उहाँलाई मैले दाई यो गाडी तानेर लगेर बनाउन दिनु भनेर भनेँ । त्यो गाडी बनाउन जाँदा उहाँले भएभरका चेक चोरेर राख्नुभएछ । उहाँको मनशाय त्यहीबेलादेखि नै गलत रहेछ । बैंकमा चेक हाल्ने र पैसा ठग्नेभन्दा उहाँको अर्को मनशाय छैन । म पीडित भएँ,”– उनले भने ।
साथै, अध्यक्ष सुवेदीलाई आफूहरूले कहिले पनि कुनै धाक धम्की नदिएको पनि उनले प्रष्ट पारे । बरू सुवेदीले नै आफूलाई चोरी गरेको चेकको आधारमा विभिन्न खालका मानसिक तनाव र हैरानी दिएको उनले बताए । उनले आफ्नो विगत र वर्तमान अध्यक्ष सुवेदीले आरोप लगाएजस्तो नरहेको जिकिर गरे ।
साथै, सिरूवा कन्ट्रक्सनमा हाल गणेश लामाको कुनै स्वामित्व नरहेको उनले बताए । एमडी पौडेलका अनुसार लामाले २०६७ सालमै सिरूवा कन्ट्रक्सन छाडिसकेका छन् । लामालाई जोडेपछि केही भ्रम सिर्जना गर्न सजिलो हुन्छ भनेर अध्यक्ष सुवेदीले चलाखी गर्न खोजेको उनले बताए ।