परिचित, अपरिचत बाटो । गन्तव्यमा सुमन, साइकल र उनको झोला । झोलामा अत्यावश्यक सामानसँगै नछुट्ने एउटा किताब । जहाँ बाटोहरूले उनलाई डोर्याउँछ अनि थपिन्छन् जीवन दर्शनका पानाहरू.... ।
पहाडी गल्छेडाहरू, गोरेटो डोजरका दाँतले डामेका कच्ची बाटाहरू, जहाँ देखिन्छ वातावरणीय परिवर्तनको प्रभाव । पहाडबाट हाम्फालेका खोला झरनाहरू, झ्याउकिरीका आवाज, चराको चिरबिर । प्राकृतिक सुन्दरतालाई आँखा र कानले भरपुर पिउँन सकिने नेपाली भूमि ।
प्रत्येक व्यक्तिले आफ्नो ‘कम्फर्ट जोन’ (सजिलो कुरा) बाट बाहिर ननिस्की यस्तो अनुभुति गर्न कहाँ पाउन्छ र ?
आफ्नो परिचय काठमाडौंमै राखेर विभिन्न ठाउँ घुम्न रुचाउँछन् सुमन थापा जो पेशाले बैंकर हुन र सौखले साइकलिस्ट । जसले दोलखा, चरिकोट, नुवाकोट, धादिङ्ग, गोरखा मनकामनाकालगायतका उकाली ओराली मात्रै होइन उपत्यकाका सुकिला बाटोहरू पछ्याइसकेका छन् ।
सुमन थापा फुर्सद हुनसाथ साइकलका पाङ्ग्राहरू गेग्रान कच्ची/पक्की अधकल्टो सडकहरू, परिष्कृत बन्दै गरेका गाउँहरू, जंगलहरूसँग साक्षात्कार साइकलसँग हिडिहाल्छन् ।
कर्पोरेट पर्सन, त्यसमाथि बैंकर, फुर्सदिला पक्कै छैनन् । तर, थोरै फुर्सदलाई पनि सदुपयोग गर्न चुकेका छैनन् उनी । साइकल, झोला र झोलामा एउटा किताब उनको साथी ।
फुर्सदमा सहरी कोलाहलबाट टाढा भेटिने उनले भने, “म सिटीमा भन्दा अफ राइडमा हिड्न मन पराउँछु,” भने, “फुर्सद हुनसाथ डाँडा पहाड, खोलानाला, झरना, पहाडतिर गइहाल्ने ।”
झ्याउँकिरीको आवाज सुनिहाल्नुपर्ने बानी छ । विशेषगरी ‘लङ राइड’मा सोलो जान मन पराउँछन् उनी ।
भन्छन्, “‘लङ राइड’मा सोलो जान्छु । त्योचाहिँ मेरो प्राइभेट समय जस्तो लाग्छ । दुई चार घण्टा साइकल चलाइसकेपछि थकाइ मार्न बस्दा किताब पढ्यो । केही च्याप्टर किताब पढेपछि यात्रा निरन्तरता दियो ।” बाँकी यात्रामा किताबमा पढेका विषयहरू सुमनको साथी बन्छन् । भावहरू मनमा आउँछन् ।
“साइकल र साइकलिङ लाइफको एउटा पार्ट भइसक्यो । कति ठाउँमा त मैले साइलबाट नै परिचय बनाएँ,” साइकल राइडलाई हबीबाट ह्याबिटमा परिवर्तन गरेका सुमन भन्छन् ।
आफू आफैँमा रमाउन सक्नुपर्छ
साइकल चलाइरहेको भए पनि प्रोफेसनको हिसाबले बैंकर हुन् उनी । पछिल्लो समय साइकल राइडरको परिचय थपेका उनी कुनै समय साइकल किन्ने कमिटमेन्ट गर्न पनि ८ महिना लागेको सुनाउँछन् ।
उनी भन्छन्, “नियमित साइकल चलाउने इच्छा राखेर साइकल किन्ने योजना बनाएँ तर, रहरले साइकल किनेका साथीहरूले निरन्तरता दिन नसकेको कुरा सुन्दा हच्किन्थे ।” साइकल चलाउने अठोट आफुमा ल्याउन ८ महिना लाग्यो ।”
साइकल किन्नुअघि लामो समय सोच्नुपरे पनि अहिलेसम्म लामो समयसम्म साइकल थन्क्याउनु परेको छैन उनलाई ।
एक्लो यात्रा बढी रुचाउने उनी भन्छन्,“आफू आफैँमा रमाउन सक्नुपर्छ । खुशीका लागि अरुमा निर्भर हुन प¥यो भने त्यो दीर्घकालिन हुँदैन ।” ।
यात्रा रोमाञ्चक हुन अठोट हुनुपर्ने उनले बताए । थप्छन्, “आफुमा अठोट ल्याउनुपर्छ, अठोट भएपछि असम्भवमा पनि सम्भावना देखिन्छ । यात्रा रमाइलो हुन्छ, एक्लै पनि रमाइलो, साथीभाइसँग पनि रमाइलो ।”
ठाउँ–ठाउँको स्वाद यात्रामा
साइकल लिएर काठमाडौँ आसपासको डाँडा, पाखा, खोला, खोल्सामा कयौ पटक पुगिसकेका उनी रामेछाप, दोलखा, धादिङ्ग, नुवाकोट,वेथानचोक, चितवन, गोर्खा आदि ठाउँ पुगेका छन् ।
राइडर थापाले गरेका यी यात्राहरू अविस्मरणीय मात्रै छैन रोमाञ्चक पनि छ । उनको गोर्खाको यात्रा यस्तै मध्येको एक हो ।
धूलोको कारण हाइवेमा साइकल चलाउन नरुचाउँदैनन् । गोरखा यात्रामा उनी मलेखुबाट सुरु गरी आँबुखैरेनी हुँदै गोरखा पुगेको बताउँछन् । गोरखाबाट शहिद लखन, घैरुङ्ग हुँदै मनकामना पुगेका राइडर थापा साइकल बिग्रिएपछि केही समय आँबु खैरेनीमा रोकिए ।
“साइकल बनाइसक्दा स्थानीयले उनलाई साँझ पर्न लाग्यो । गोर्खा पुग्न ४/५ घण्टा लाग्ने भन्दै नजान सुझाव दिएका थिए । दृढ सङ्कल्पका साथ यात्रामा निस्किएँ । नडग्मगाई यात्रा सुरु गरेको २ घण्टामै गोरखा पुँगे,”उनले भने । सोही यात्रामा आफूलाई स्थानीयहरूले विदेशी भन्दाचाहिँ झस्किएको उनी बताउँछन् ।
“यात्रामा घेरै ठाउँमा बालबालिकाहरूले विदेशी ठानेर ‘हेल्लो’, ‘हाउ आर यु’ भन्थे, एक ठाउँमा त आमाहरूले बच्चालाई ‘बाबु कुइरे आयो, वान डलर भन्, त्यसले पैसा दिन्छ’ भनेपछि म झसङ्ग भएँ,” राइडर थापाको अनुभव छ ।
आफूलाई नेपाली नै हो भन्दा छक्क पर्ने गरेको उनले बताए । थापाले थपे, “साइकलमा गोरखा जानु सायद उनीहरूलाई नौलोे लागेको हुन सक्छ, नौलो कुरा विदेशीबाटै हुने देखेका उनीहरूले मलाई पनि विदेशी सोचेका हुन सक्छन् ।”
सौख र स्वास्थ्यको साधन बन्दै साइकल
साइकल आविष्कारको करिब सय वर्ष पुग्न लागेको छ । सन् १९१० मा भारतमा रहेको अंग्रेज सरकारले ३५ हजार थान साइकल भित्याएर भारतीय क्षेत्रमा साइकलको शुरूवात गरेको इतिहास छ । यहि साइकलमध्ये केही नेपाल भित्रिएको अनुमान छ । जुन समय राणा परिवारको लागि आइपुग्यो । गेहेन्द्र शमशेरका छोरा शूर शमशेर नेपालका साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको छ ।
तीर्थ नारायण मानन्धरको पुस्तक काठमाडौं ‘उहिले र अहिले’मा यो कुरा उल्लेख छ । तर, अहिले नेपालमा कति साइकल छन् अनुमान गर्नै सकिन्न । अनिवार्य र सौखका लागि सयौं भेराइटीमा हजारौं साइकल सडकमा देखिन्छन् ।
चाहे घाँसका भारी बोकेर ल्याउन होस् वा तरकारी बोकेर डुलाउँदै बेच्न वा अफिस, स्कुल जान या जंगल गएर दाउरा ल्याउन नै किन नहोस् साइकल सजिलो र छरितो साधन हो । तराइतिर ५० को दशकमा साइकल विहेमा दाइजो समेत दिइन्थ्यो । समय क्रमसँगै साइकल सौख स्वास्थ्यका लागि मध्यम बर्गबाट उच्च वर्गले चढ्ने साधन पनि बनेको छ ।
साइकल र मानिसको सम्बन्ध पुरानो सम्बन्ध हो । जसको श्रेय कार्ल फ्रेरर भन ड्रस र डेनिस जोनसनसम्म जान सकिन्छ । तर, साइकल सुधार भने सन् १८३९ आइपुग्दा पाइला टेकेरै साइकललाई पाउदानी खुट्टालेले बल गरेर पाङ्ग्रा घुमाउने सफलता स्कटल्यान्डका फलामको ज्यासल चलाएर बस्ने कर्कप्याट्रिक म्याकमिलनले पहिलोपटक पाए । त्यसैको विकसित रूप आज लाखौं रुपैयाँ पर्ने साइकल छन् बजारमा ।
साइकल यात्रा : कला संस्कृति बुझ्ने अवसर
यात्रा गर्दा गाडीमाभन्दा करिब १० गुणा बढी मोटरसाइकलमा प्रकृतिको आनन्द लिन सक्ने र मोटरसाइकल भन्दा अझै १० गुणा बढी साइकलमा यात्रा गर्दा प्रकृतिको आनन्द लिन सकिने राइडर थापा बताउँछन् ।
यात्रामा प्राकृतिक सौन्दर्यको स्वादसँगै त्यहाँको कला संस्कृति, रहनसहनले थप लोभ्याउने उनको भनाइ छ । यात्राका क्रममा विशेषगरी
बृद्धबृद्धाहरूसँग कुराकानी गर्न रुचाउने, उनी भन्छन्, “उहाँहरूको अनुभव र भोगाइ साट्न पाउदा रमाइलो लाग्छ ।
साथै, त्यहाँका संस्कृति र चालचलनबारे बुझ्न पाइन्छ ।” यस्तै क्रममा उनले रामेछापको यात्रामा ‘मागी भाका’बारे थाहा पाएको बताउँछन् । गाउँमा ऋण चाहिँदा साहुसँग लिने र उक्त ऋण जहिले लिए पनि माघ महिनामा मात्र तिर्नुपर्ने चलनलाई ‘मागी भाका’ भनिन्छ ।
त्यस्तै, आफूले नेवार समुदायले बोल्ने भाषा स्थान अनुसार फरक हुँदो रहोछ भन्ने पनि दोलखा साइकल यात्राको क्रममा नै थाहा पाएको उनले बताए ।
साइकल यात्रा : स्वास्थ्य जीवन, पैसा बचत
उनका अनुसार एउटा गाडिले एक बर्षमा २.६ मेट्रिक टन CO2 उत्सर्जन गर्छ । यदी हामीले दैनिक जीवनमा गाडिको प्रयोग घटाएर साइकलको प्रयोग गर्न सक्यौँ भने वातावरण संरक्षणमा ठूलो टेवा पुग्न सक्छ ।
बिहान उठ्ने वित्तिकै कहिले एक्लै कहिले साथीभाइसँग साइकलिङ जानु उनको नियमित कर्म बनिसकेको छ । राइडर थापा साइकलमै बैंक जान्छन् । उनी भन्छन्, “गाडीमा अफिस जाँदा करिब ३५ मिनेट लाग्छ, साइकलमा जादा १०/१५ मिनेटमै पुगिन्छ ।” यसले गर्दा समय व्यवस्थापनमा निकै सहयोग पुगेको राइडर थापाको अनुभव छ ।
साथै गाडीमा मासिक १२ हजार रुपैयाँको तेल लाग्ने गरेकोमा ‘साइकल टु वर्क’ले इन्धनमा खर्च हुने पैसा पनि बचत हुने गरेको उनले बताए । त्यस्तै, साइकलले गाडिको मेन्टेनेन्स र गाडी पार्किङमा लाग्ने महङ्गो शुल्क पनि जोगिने उनको भनाइ छ ।
मन लागेको खाने, साइकल चलाउने !
बद्लिदो जीवनशैली र खानपानको असर मानिसहरूको स्वास्थ्यमा परिरहेको छ । यस्तोमा समय व्यवस्थापन मात्रै होइन शरीरमा फूर्ति ल्याउन पनि साइकल महत्त्वपूर्ण छ ।
“मानिसहरू मोटायो, सुगर प्रेसर बढ्यो भन्छन्, गाडी चढ्नेहरू गाडीमा आउँदा जाममा परेँ, गाडी पार्किङ गर्ने ठाउँ छैन जस्तो एक्सक्युज (excuse) माग्छन् । भन्दा अलि असजिलो सुनिन्छ तर मलाई मानिसहरू मुर्ख हो जस्तो लाग्छ,” राइडर थापाले भने ।
साइकलिङले मोटोपन, सुगर, प्रेसरलगायतका समस्यालाई नियन्त्रणमा सहयोग गर्ने मात्रै नभई माइग्रेनको समस्या समाधानमासमेत सहयोगी हुने उनको अनुभव छ ।
“हामी व्यायाम गर्दैनौँ, अनि खानेकुरामा मुख बार्छौ । व्यायाम गर्ने समय छैन भन्छौ तर, घण्टौँ गाडी/मोटरसाइकलमा बसेर अफिस जान्छौँ, कतै जाँदा पर्किङ्ग छैन भनेर हतोत्साहित हुन्छौँ,” उनले थपे, “यदि दैनिक साइकल चलाउने हो भने खानामा धेरै रोकटोक गर्नु पर्दैन । मन लागेको खाने अनि मज्जाले साइकलिङ गर्ने, त्यसो गर्दा खाना पचिहाल्छ, मोटोपन, सुगर प्रेसर पनि नियन्त्रण गर्न सहयोग पुग्छ । यसले जाममा पर्ने र पार्किङ गर्ने झन्झट हुँदैन । समय व्यवस्थापन मात्रै होइन शरीरमा फूर्ति ल्याउन पनि साइकल महत्वपूर्ण छ ।”
नियमित साइकलिङ सुरु गरेदेखि आफूलाई सधैँ स्फूर्त (फ्रेस) महसुस गरेको राइडर थापाको अनुभव छ । यसले दैनिक बढिरहेको माइग्रेनको समस्या समाधानमा समेत साइकलले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।
उनले भने, “लामो समयदेखि मलाई माइग्रेन थियो । उक्त समस्या दैनिक बढिरहेको थियो । नियमित साइकल चलाउँदा यो समस्या कम हुदै गयो र अब त मलाई पछिल्लो पटक कहिले टाउको दुखेको थियो भन्ने कुरा याद पनि छैन ।”
साइकलिङले सकारात्मक भावनाको विकासमा समेत सहयोग पुर्याएको उनको अनुभव छ । “सधैँ फ्रेस रहन्छु । मनमा सधैँ सकारात्मक विचार आउँछ । सानातिना स्वास्थ्य समस्या रुघा खोकीले सजिलै छुदैन । पाँच मिनेट उभिदा गाह्रो हुन्थ्यो अहिले घण्टौँ उभिन वा काम गर्न सक्छु,” उनले बताए ।
साइकलिङ कता र कसरी गर्ने ?
भ्यालीभित्र बिदाको दिनमा, गाडीहरू कम चल्ने दिनमा चलाउनु राम्रो हुन्छ । अरु दिन रिङ्गरोड बाहिर साइकलिङ गर्नु राम्रो हो । काठमाडौँमा दौनिक १५/२० किलोमिटर साइकल चलाउन सकिने ठाउँहरू प्रशस्त छन् । भ्याली बाहिर जाँदा सेफ्टीका कुरामा ध्यान दिनु पर्ने उनले बताए ।
उनका अनुसार लङ राइडमा जाँदा आवश्यक पर्ने सबै इक्वीपमेन्ट (Equipment) बोक्न आवश्यक छ, ताकि साइकल बिग्रेमा बाटोमा बनाउन सकियोस् । कसैमाथि निर्भर हुन नपरोस् ।
साइकल राइडरले यात्रा सुरु गर्नुभन्दा अघि अठोट लिनुपर्ने राइडर थापाको सुझाव छ । उनले भने, “अठोटबिना कहीँ पनि पुगिदैन । म आफैँलाई पनि साइलिङ जाँदा केही घण्टा चलाएपछि विचलित भएको क्षणहरू धेरै छन् तर अठोट लिएर निस्किए पछि भने विचलित भइदैन ।”
राइडमा जानुअघि अर्को प्रमुख कुरा साइकलमा ध्यान दिनुपर्ने उनले बताए । साइकलको अवस्था के छ ? राम्रोसँग चेकजाँच गर्नु/गराएर मात्रै राइडमा जान थापाको सुझाव छ ।
“बिचमा गएर समया आउन सक्छ भनेर सर्तक र सावधानी अपनाउनु पर्छ,”उनले भने ।
यस्तै, साइकललाई आवश्यक पर्ने सबै कुरा जस्तै, ट्यू, पन्चट टाल्ने किट, चेन मिलाउने कुरा, ओयल, ग्लोबस्, लाइट, हावा हाल्ने पम्प, मोवाइल होल्डर जस्ता कुराहरूचाहिँ अनिवार्य रूपमा बोक्नै पर्छ । यी चिजहरू ब्यागको एउटा कुनामा अट्ने उनले बताए ।
त्योबाहेक आफूले फेर्ने कपडाहरू, आवश्यक पर्ने चिजहरू, यदि पढ्ने बानी छ भने पुस्तक, केही खानेकुराहरू, चकलेटहरू, जीवनजल र ग्लुकोजहरू बोक्न उनको सुझाव छ । साइकल चलाउँदा पसिना धेरै जान्छ । यस्तो बेलामा पानी मात्रै पिएर हुँदैन । जीवन जल, ग्लुकोजको आवश्यकता पर्छ । त्यसो गरिएन भने स्वास्थ्यमा दीर्घकालिन असर पर्न सक्छ ।
यात्रामा नसोचेको, कल्पना नगरेको समस्याहरू पनि आउँन सक्छन् । पूर्वतयारी गर्नुपर्छ । बाटोमा समस्या भएमा कहाँ कसलाई सम्पर्क गर्ने, कसले कस्तो सहयोग गर्न सक्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ ।
साइकलिङ दुःखमा पनि सुख
एउटालाई दुःख लाग्ने काम अर्कोलाई सुख पनि लाग्ने उनले बताए । आफूले रुचाएको काम जतिसुकै दुःख र हण्डर खाए पनि खुशी खुशी गर्ने मान्छेको स्वभाव रहेको सुमनको अनुभव छ । त्यसैले साइकल बोक्नु परे पनि रमाइलो लाग्ने उनले बताए ।
यद्यपि, यात्रामा नसोचेको, कल्पना नगरेको समस्या आउन सक्ने बताउँदै पूर्वतयारी गर्नुपर्ने सुमनको सुझाव छ । “अरुले दुःख देख्ने चिजमा म सुख पनि देख्छु । यात्रामा साइकल बोक्नु परे पनि मलाई रमाइलो लाग्छ,” उनले भने ।
तीन दिनको टुरमा चन्द्रगिरी उक्लिएर पालुङ हुँदै हेटौँडा गएर आउन चन्द्रागिरी उक्लिएका थापा बिच बाटोबाटै घर फर्किएका छन् । दुई/तीन घण्टा उकालो चढेर चन्द्रागिरी माथि पुगेपछि त्यहाँ भेट भएका एक जना मान्छेले उनलाई अगाडि जानबाट रोके ।
ती व्यक्तिले डोजरले बाटो खनिरहेको छ । ढुङ्गा बर्सिरहेको छ । नजानु भनेका थिए थापालाई । तर, डोजर रोक्न लगाएर पनि जान्छु भनेर अघि बढेका उनको पाइला धेरै अघि बढ्न सकेन ।
उनले भने, “डाँडामाथि डोजर थियो, रोक्न लगाउनको लागि अगाडि जान सकिएन । ढुङ्गा बर्सेको बस्र्यै थियो । अगाडि जाने अवस्था नै थिएन न त कुनै बैकल्पिक बाटो नै ।”
यात्रा नचाहादा नचाहादै पनि रोक्नु पर्दा त्यो समय आफूलाई निकै नमज्जा लागेको उनी बताउँछन् । त्यहीँ खल्लोपन तब मेटियो जब केहि हप्तापछि उनी काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक पुगे । उनले भने “५० किमिको राइड र ३ घण्टाको हाइक अनि जंगलमा क्याम्प, बडो मज्जा आएको थियो ।”
मानिसको दृष्टिकोण परिवर्तन हुँदैछ
साइकलले वातावरण सुधारमा मात्रै होइन अर्थतन्त्र सुधारमा समेत ठूला योगदान पुर्याइरहेको छ । सहरको ट्राफिक जाम कम गर्न गर्न पनि साइकलको भूमिका उस्तै छ । तर, आम मानिसको सम्पन्नता सोच अलिक गरिब भएको उनको बुझाइ छ ।
साइकल लिएर हिँड्दा चिनजानका केही साथीभाइ, आफन्तहरूले ‘ए ! साइकलमा पो हिडेँको ?’ जस्तो प्रश्नहरू उनीसामु नतेर्सिएका होइनन् ।
तर, पछिल्लो समय मानिसहरूको हेर्ने दृष्टिकोणमा समेत क्रमशः परिवर्तन आइरहेकोसमेत उनले बताए । “प्राय साइकल चलाएकोमा सबैले खुशी र सम्मान नै देखाउँछन् । साइकल चालकलाई मानिसहरूको हेर्ने दृष्टिकोण बदलिदै गरेको महसुस गरेको छु,” उनले भने ।
मानिसहरूलाई साइकलको महत्त्व बुझाउन र यसका लागि पूर्वाधार तयार गर्न नेपाल साइकल सोसाइटीमा समेट आबद्ध भई बिभिन्न कामहरू गर्दै आएको उनले बताए ।
ललितपुरमा बनेको साइकल लेनले साइकल कल्चरमा सहयोग पुगेको उनको बुझाइ छ । विकासपछि पूर्वाधार निर्माण गर्न गाह्रो हुने र काठमाडौँ उपत्यकामा अब साइकल लेन बनाउनु चनौतिपूर्ण रहेको उनले बताए । सहरभन्दा बाहिर भने विकासअघि पूर्वाधार बनाउनु पर्ने उनको सुझाव छ ।
विदेशमा पहिले पूर्वाधारको सोच बन्छ, त्यसपछि विकास हुन्छ तर, नेपालमा भने ठीक उल्टो हुन्छ । सरकार, नीजि क्षेत्र र आम सर्वसाधरणले पनि साइकलको महत्त्व बुझेर आफूले सकेको योगदान दिनपर्ने उनी बताउँछन् ।
“बदलिदो समाज र ब्यस्त जीवनलाई सहज बनाउन साइकल संस्कृति विकास हामीले गर्नै पर्छ । ‘साइकल टु स्कुल’, ‘साइकल टु वर्क’का फाइदा र अवसरबारे बुझ्न जरुरी छ,” उनले भने, “सडकमा गाडिको चाप बढिरहने हो भने पार्किङले अब थेग्न सक्दैन । त्यसैले साइकलमा यात्रा गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ, ।”
साइकलिङले दिएको इनर्जी र समय
हरेक मानिसमा कुनै न कुनै ‘हबि’ हुन्छ, जसले जीवनमा रङ्ग भर्ने काम गर्छ । कर्पोरेट लाइफ बिताइरहेका सुमनको जीवनमा पनि ‘साइकिलिङ’ गर्ने ‘हबि’ ले रङ्ग भर्ने काम गरेको छ । उनी भन्छन्, “साइकलिङ गर्ने हबिको कारणले मानिसहरूसँगको सम्बन्ध विस्तार गर्न, आत्मियता क्रियट गर्न, नेटवर्किङ विस्तार गर्न सहयोग पुगेको छ । यसले मेरो कर्पोरेट लाइफ र पारिवारिक लाइफलाई पनि अझै सुन्दर बनाइरहेको छ ।”
घरको कान्छो छोरो रहेका उनी साइकल भने बुवाको ‘बुढो’ साइकलबाट सिकेको बताउँछन् । पछि भने आफूले दाइले छोड्नु भएको साइकल चलाउन पाएको उनले बताए ।
स्वयम्भू, छाउनी आसपासका खेतबारीमा साइकल कुदाउने, फुटबल खेल्ने, चङ्गा उडाएर हुर्किएका थापा भन्छन्, “अबका बच्चाहरू कौशीमा साइकल सिक्नुपर्ने अवस्था छ ।”
साइकलिङमा नजाँदा ७ बजेसम्म सुत्ने उनी अचेल बिहान ५ बजे नै उठ्छन् । करिब दुई घण्टा साइकलमा सहर नजिकका पाखा पखेरु चहार्छन् । यसले आफूलाई दिनभर सक्रिय बनाउने गरेको उनको अनुभव छ । “बिहान साइकल राइडमा जाँदा पारिवारिक जीवन तथा अफिसको काममा पनि सक्रियता पाएको छु । यसले ममा इनर्जी मात्रै थपेको मात्रै छैन साथीभाइहरूसँग भेटघाट, चिया कफिको लागि समयसमेत जुराएको छ ।”
बैंकर थापाले कतिपय ठाउँमा साइकलबाटै परिचय बनाएका छन् । उनी भन्छन्, “साइकल मेरो बानी भइसक्यो । जीवनको एउटा पार्ट नै बनिसक्यो । कति ठाउँबाट त म साइकल राइडरको रूपमा परिचित छु ।”
अर्थ डबलीसँगको कुराकानीमा उनले सुमन र साइकल एकअर्काको पर्याय जस्तो भइसकेको अनुभव साटे । व्यस्त र भारी दैनिकी साइकलले हलुङ्गो बनाइदिएको छ । साइकलको पाइडलमा घुमिरहने पाइतालाले अझै चुम्नु छ देशको सुदुर गाउँहरू ।
बुझ्नु छ त्यहाँको, भाषा, साहित्य, कला संस्कृति । उनी भन्छन्, “अझै निरन्तर हिडिरहनेछु भीरपहरा, जङ्गल, झरना, खोला छिचोल्दै । साइकलको पाइडलमा बल लगाउँदै । गामबेसीमा खेल्ने कुहिरोहरूसँग ताल मिलाउँदै । चरीको चिरबिरसँग लय हाल्दै । सानो, साँघुरो गोरेटोहरू साक्षी राखेर यसरी निरन्तर अघि बढिरहनेछ साइकल र सुमन ।”
राइडर सुमन थापा पेसाले बैंकर हुन् । हाल उनी लक्ष्मी सनराइज बैंकमा कार्यरत छन् ।