काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को भदौँ महिनामा सुनको आयात शून्य जस्तै देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०/८१ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार भदौँ महिनामा ५५ गा्रम मात्रै सुन आयात भएको देखिएको छ ।
विभागको तथ्याङ्क अनुसार चालु आवको साउन महिनामा एक लाख १ सय ५ ग्राम सुन आयात भएको थियो । तर, भदौँ महिनामा भने ५५ ग्राम मात्रै सुन आयात भएको देखिएको छ ।
यस अनुसार भदौँमा सुनको व्यावसायिक आयात शुन्य रहेको देखिएको छ । ५० ग्राम सुन भने कुनै व्यक्तिले आयात गरेको विभागको तथ्याङ्कले देखाएको हो ।
नेपालमा व्यावसायिक रुपमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरुलाई मात्रै छ । बैंकहरूले पनि दिनमा २० केजी सुन आयात गर्न पाउँछन् । तर, भदौँमा उनीहरुले सुन आयात नगरेको संकेत तथ्याङ्कले गरेको छ ।
रकमका आधारमा भदौमा पाँच लाख २३ हजार रुपैयाँको मात्रै सुन आयात भएको देखिन्छ । गत साउन मसान्तसम्म एक अर्ब चार करोड २७ लाख ६६ हजार रुपैयाँको सुन आयात भएको थियो ।
यसरी सम्रगमा हेर्ने हो भने दुई महिनामा एक लाख १ सय ५५ ग्राम सुन आयात भएको छ । रकमको आधारमा भने दुई महिनामा कुल १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । जसबाट सरकारले २० करोड ८६ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
बिशेषगरी सुनको मूल्य निरन्तर बढ्दा यसका गरगहनाको मागमा पनि संकुचन आएको छ । पछिल्लो समय सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । त्यसले गर्दा नेपाली बजारमा सुन महंगो हुन गई माग पनि घट्दै गएको छ ।
यस्तै, गत आर्थिक बर्ष २०८०/८१ मा भने नेपालमा २६ लाख ५२ हजार ग्राम सुन आयात भएको थियो । त्यसको लागत मूल्य २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको विभागको तथ्याङ्क छ ।
नेपालमा पछिल्लो पटक फागुन–चैत यतादेखि सुनको मूल्य बढ्दै आएको छ । फागुन १ गते सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ थियो । फागुन महिनामा त्यो बढेर एक लाख २६ हजार रुपैयाँसम्म पुगेको थियो ।
चैतमा भने त्यो बढेर एक लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो । तर, त्यसबेला सुनको कारोबार पनि उच्च नै थियो । अहिले सुनको मूल्य तोलाकै एक लाख ६० हजार रुपैयाँ नजिक पुगेको छ । यसरी मूल्य आकाशिएसँगै सुनको मागमा पनि कमी आएको छ ।