काठमाडौँ / राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौँ उपत्यकाका २ सयभन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदा नगरिएको छ ।
उपत्यकाका तीन ओटै जिल्लाहरू (काठमाडौँ, भक्तपुर र ललितपुर)मा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा ८, ९ र १० का २ सयभन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।
तालिम प्रदान गरिएका विद्यालयहरू (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम गत भदौ २५ देखि २५ सम्म सञ्चालन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरू, सहायक प्रधान अध्यापकहरू, शिक्षकहरू लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरूको उपस्थितीमा उक्त तालिम सञ्चालन गरिएको थियो ।
गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गयाप्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवद्र्धक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताए ।
यसैगरी श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधान अध्यापक मीन बहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरू शिक्षकमार्फत अन्य विद्यार्थीहरूलाई सिकाईने बताए ।
साथै, उनले छात्राहरूको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरूमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।
यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायत शिक्षकहरूलाई समेत दिन सके यसले संरक्षित बातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो । यस प्रकारका प्रशिक्षणहरू अत्यन्त आवश्यक रहेकाले निरन्तरतााका लागि आदर्श माध्यमिक विद्यालयका प्रधान अध्यापक राम बाबु रेग्मीले आग्रह गरेका थिए ।
उक्त तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए । किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै, सुषमा पोखरेलका अनुसार दिनप्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरू बढ्दै गैरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरू सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताए ।
प्रशिक्षणका क्रममा सहभागी किशोरीहरूले सुरक्षाका विभिन्न समस्याहरू बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए ।